बुधबारे । झापाको बुद्धशान्ति गाउँपालिका वार्ड नं १ मा रहेको होक्से कृषि सहकारी संस्था लि. को १२औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष मोहन तिम्सिनाको अध्यक्षता, बुद्धशान्ति गाउँपालिका सहकारी शाखाका प्रमुख ज्योतिकुमार दाहालको प्रमुख आतिथ्यता, सहकारी बैंक मेचीनगर शाखाकी प्रमुख मुना घिमिरेको विशिष्ट आतिथ्यता, बुद्धशान्ति गाउँपालिका पशु विकास शाखाका प्रमुख कैलास सिंहको विशेष आतिथ्यता, श्री त्रिभुवन मा.वि.का शिक्षक रामचन्द्र अधिकारी, जेष्ठ नागरिक तथा अपांग भेटघाट चौतारीका अध्यक्ष राम प्रसाद रिजाल, वीवीसी नेपाली सेवाका संवाददाता उमाकान्त खनाल लगायतको आतिथ्यतामा भएको साधारणसभामा विभिन्न बिधामा उत्कृष्टलाई सम्मानसमेत गरिएको थियो ।

सम्मानित हुनेहरुमा उत्कृष्ट शेयर सदस्य वर्ष २०७७ मा इन्द्रप्रसाद अधिकारी, उत्कृष्ट कृषकमा देवीमाया ओझा, उत्कृष्ट बचतकर्तामा अर्जुन ढकाल, उत्कृष्ट ऋणीमा सविता घिमिरे, उत्कृष्ट पत्रकारमा उमाकान्त खनाल, उत्कृष्ट रिचार्जकर्तामा पर्शुराम खतिवडा र उत्कृष्ट विद्यार्थी छात्र तर्फ श्री त्रिभुवन मा.वि.का आदित्य खनाल र छात्रा तर्फ त्रिभुवन मा.वि.कै कशिश राईलाई सम्मान गरिएको छ।
जेष्ठ नागरिक तथा अपाङ्ग भेटघाट चौतारी बुद्धशान्ति १ होक्सेको सभाहलमा सम्पन्न भएको साधारणसभामा संस्थाका उपाध्यक्ष गुरुभक्त घिमिरेले उपस्थित अतिथि तथा शेयर सदस्यहरुलाई शाब्दिक स्वागत गरेको थिए भने संस्थाका व्यवस्थापक पर्शुराम नेपालले कार्यक्रम संचालन गरेका थिए।
विभिन्न सामाजिक तथा कृषि कार्यहरुलाई आत्मसात गर्दै अघि बढेको उक्त सहकारीले शेयर सदस्य तथा स्थानीय समाजको विकास, विस्तार र प्रवर्द्धनमा आगामी दिनहरुमा पनि सक्रिय भूमिकामा देखिने संस्थाका अध्यक्ष मोहन तिम्सिनाले जानकारी दिए।