विर्तामोड । जिल्ला विकास समिति झापाले जथाभावी खोला उत्खनन् गर्न अनुमति दिएका कारण अबको पाँच बर्षमा सिँचाई सुविधा पुगेका झापाको करीब २ हजार हेक्टर जमीन बाँझो हुने सिँचाई विकास डिभिजन कार्यालय झापाका प्रमुख ईश्वरीप्रसाद तिवारीले चेतावनी दिएका छन् । उनले झापाको बुधबारेको उर्बर जमिनमा सिँचाई गर्ने विरिङ खोलामा जथाभावी उत्खनन् भइरहेकाले बुधबारेकै धान फल्ने जग्गा बाँझो हुने बताए ।
शुक्रबार जिल्ला प्रशासन कार्यालय झापाको सभाहलमा छलफल कार्यक्रम नै आयोजना गरेर उनले त्यस्तो चेतावनी दिएका हुन् । विरिङ खोलाबाट खेतमा सिँचाई पुर्याउनका लागि करीब आधा दर्जन योजनाहरु सञ्चालित छन् । केही योजनाहरु आउने क्रममा रहेको उनले जानकारी दिए । इन्जिनियर तिवारीका अनुसार एक बर्ष भित्रै खोलाको सतह करीब २ मिटर तल पुगेकाले सिँचाई आयोजनाका मुहानमा किसानले पानी उठाउन नसकिरहेको उनले जानकारी दिए । उनले भने, ‘जिल्ला विकास समितिमा कयौं पटक मैले कुरा उठाउँदा सुनिएन । यि सिँचाई आयोजना जोगाउने दायित्व जिल्ला विकास समितिको हो कि होइन?’
विरिङ खोलाबाट लिक्ष्मी विरिङ, साधुटार सिस्ने नेते, कार्की मूल पैनी, सुब्बा गिद्धे, विरता विरिङ मूल पैनी, नेपाल पैनी तथा हात्ती किल्ला पैनी सिँचाई आयोजनाहरु सञ्चालित छन् । तर अधिकांश सिँचाई आयोजनाहरुको मुहानमा खोलाबाट पानी उठाउन गाह्रो भइसकेको इन्जिनियर तिवारीको भनाइ छ ।
झापामा १ लाख ९ हजार ५ सय ३० हेक्टर जमिनमा खेती लगाइने सिँचाई कार्यालयको तथ्यांक छ । त्यसमा पनि ४२ हजार ६ सय ६३ हेक्टर जग्गामा मात्र सिँचाई सुविधा पुगेको छ । जुन खेती हुने जग्गामध्ये ३९ प्रतिशत मात्र हो । त्यस्मा पनि बुधबारेको उर्बर जमिन नै बाँझो हुन लागेकोमा इन्जिनियर तिवारीले चिन्ता व्यक्त गरे । उनले सिँचाईको मुहान वरपर खोलाबाट ढुंगा, गिटी, बालुवा निकाल्नै नहुने बताए ।
तर जिल्ला विकास समिति झापाका स्थानीय विकास अधिकारी खेमराज ओझाले जिविसको आयको प्रमुख श्रोत खोला जन्य पदार्थ नै भएकाले खोलाबाट ढुंगा, गिटी तथा बालुवा ननिकाली नहुने बताए । उनले भने, ‘खोलाबाट ढुंगा, गिटी तथा बालुवा ननिकाल्ने हो भने विकास निर्माणका काम नै ठप्प हुन्छ ।’ तर सिँचाई कार्यालयका प्रमुख तिवारीले खोला ठेक्का लिने सिँचाईका मुहानमै ठूल्ठूला खाल्डा बनाएको बताए । उनले भने, ‘तपाईं सबै गएर हेर्नुहोस्, स्थिति के छ थाह भइहाल्छ ।’