विर्तामोडमा ‘टुवेल डी’ सिनेमा खुलेको छ भन्ने सुनेको थिएँ । एफएमले पनि प्रचार गरिरहेका थिए । टेलिभिजनको स्क्रोलमा पनि प्रायः देख्थें । केही पत्रिकामा पढें पनि ।
काठमाण्डौंको सुन्धारास्थित सिभिल मलमा भएको ‘टुवेल डी’ बारे त सुनेको थिएँ । तर, मेची अञ्चलमा पनि ‘टुवेल डी’ छ भन्ने थाहा थिएन । भर्खरै खुलेको रहेछ विर्तामोडमा ।
युवा व्यवसायी अशोक भण्डारी र निमेश शिवाकोटीले यो प्रविधि यहाँ भित्र्याएका रहेछन् । चीनमा गएर यो प्रविधिको बारेमा सिकेछन् । र, आफ्नै ठाउँमा आएर सीपलाई व्यवहारमा प्रयोग गरेका रहेछन् ।
अहिले यो प्रविधिलाई हेर्न प्रत्येक घण्टा मानिसहरुको भीड लाग्छ । प्रायः मानिसहरु खचाखच हुन्छन् । मेची अञ्चलवासीका लागि नौलो प्रविधि भयो यो ।
एनिमेटेड सिन अनि सोही प्रकृतिको डाइमेन्सनले मानिसलाई छुट्टै संसारमा पुर्याइदिन्छ । जसका कारण मानिसहरुमा ‘टुवेल डी’ प्रति रुचि जागेको हो भन्ने लाग्छ मलाई ।
अहिलेको समय भनेको प्रविधिको समय हो । सदुपयोग गर्न जान्यो भने सबै थोक सहजै पाइन्छ । आज इन्टरनेटको माध्यमबाट दुनियाँको जुनसुकै कुनामा रहेको मान्छेसँग कुरा गर्न सकिन्छ ।
विश्व बजारमा सामान बेच्न सकिन्छ । किन्न पनि । केही दिनअघिको कुरा हो । एक जना साथीको भाईले अनलाइनमार्फत डिजिटल घडी मगाएछन् । मोबायलको जस्तै फिचर रहेछ । सबै फिचरहरु अनलाइनमै देखायो ।
उनले तुरुन्त ‘वाइ नाओ’ लेखेको बटन दबाए । त्यहाँ नाम, ठेगाना, फोन नम्बर, इमेल इत्यादी लेख्ने ठाउँ आयो ।
दाजुको नाम लेखिदिए । ठेगाना, फोन नम्बर, इमेल पनि दाजुकै । तत्काल त्यो साइटबाट दाजुलाई फोन गएछ ।
‘डिजिटल वाच मगाउनु भएको रहेछ, ३ दिनमा पाउनु हुनेछ’, फोनमा दाजुलाई कम्पनीबाट भनेछन्, ‘क्यास अन डेलिबरी सर्त अनुसार तपाईंले सामान पाएपछि रकम तिर्नु पर्नेछ ।’ उनी तीन छक्क परे ।
साँझ घर आए । त्यसबारे घरमा कुरा गरे । अनि पो भाईले मुख खोले ।
दाजुले त्यो कुरा थाहा पाएपछि भाईलाई घडी किनिदिने भए । र, प्रक्रियाअघि बढाए । यो सबै इन्टरनेटको कारण सम्भव भएको हो ।
यस्तै एउटा विज्ञानको अद्भुत देन ‘टुवेल डी’ पनि हाे भन्ने मलाई लाग्छ । कम्प्यूटरको विद्यार्थी हुँ । प्रविधिको विषयमा अलि बढि नै रुचि लाग्छ । त्यसैले पनि यी र यस्तै विषयसँग नजिक हुन्छु ।
‘टुवेल डी’ मा ‘टुवेल’ वटै सीट रहेछन् । सबै सीट एक्टिभ । अर्थात्, सबै सिट हल्लिन्थे । नाच्थें । स्क्रीनमा देखाइने दृश्य अनुरुप । आवश्यकता अनुरुप ।
विदाको मौका छोपेर विर्तामोडको हनुमान सेन्ट्रलमा रहेको ‘टुवेल डी’ हेर्न पुगेकी थिएँ । मध्य दिउँसो पुगे । त्यति वेला मानिसहरु अलि कम नै हुँदा रहेछन् क्या रे ! भीड थिएन ।
टिकट काटें । ४ सय ५० पर्दो रहेछ । टेबलमा बुकलेट राखिएको थियो । ‘टुवेल डी’ बारे लेखिएको रहेछ । २८ मिनेटको मात्र भिडियो देखाइने रहेछ भन्ने बुझें । लाग्यो–यत्रो पैसा तिरेको व्यर्थै हुने भयो ।
त्यहाँ देखाइने भिडियोहरु ‘निक’ जस्ता च्यानलहरुबाट देखाइने सामान्य कार्टुन होलान् भन्ने लाग्यो बुकलेट हेर्दा । मनमा अनेक कुरा खेल्यो ।
सोचें–रमाइलोको त कुरै छोडौं, त्यो २८ मिनेट पनि कसरी काटिन्छ होला !
तर, भित्र छिरेपछि ठीक उल्टो अनुभव गर्न पाएँ । ‘टुवेल डी’ मा ‘टुवेल’ वटै सीट रहेछन् । सबै सीट एक्टिभ । अर्थात्, सबै सिट हल्लिन्थे । नाच्थें । स्क्रीनमा देखाइने दृश्य अनुरुप । आवश्यकता अनुरुप ।
कुर्सीमा बस्ने वित्तिकै त्यहाँका कर्मचारीले सिट बेल्ट बाध्न लगाए । बाधें । किन बाध्नु होला यो ? प्रश्न उब्जियो । ती युवक हिँडिसकेका थिए । र, केही नभनि बाँधे ।
अर्को पटक फेरि एउटा चस्मा लिएर मेरो छेऊ उनी आए । र, लगाउन भने । आँखामा अट्दैन जस्तै भयो । अलि ठूलै आकारको रहेछ । अलि अर्कै फिल भयो ।
अब केही वेरमा भिडियो सुरु हुँदै थियो । पछाडी बसेका ती कर्मचारीले कर्सर सार्न थाले । स्क्रीनमा प्रष्टै देखिन्थ्यो ।
द ट्रयाक्ट नाम गरेको एक्सन भिडियोबाट ‘टुवेल डी’ को अनुभव लिन सुरु गरियो । स्क्रीनमा जस्तो देखिन्थ्यो । त्यो आफ्नै नजरमा आए जस्तो भयो । वेला वेला त लाग्थ्यो त्यहाँका वस्तु सिधै आएर मेरा आँखामा पस्न लागे !
तिखा वस्तुहरुले मेरा आँखा फुटाउँछन् ! फुत्त ठूलो वस्तु आँखा अघि आउँदा झल्यास्स भएँ ! हठात् आँखा चिम्लिन पुगें ।
छेऊमा बस्ने साथीहरुलाई हेरें । छुट्टै संसारमा रमाइरहेका थिए सबै । डिस्टर्ब गर्नु उपयुक्त लागेन ।
दोस्रोमा देखाइयो, अन्डर ओसन नामक एड्भेन्चरस भिडियो । हेनुरुञ्जेल मुटु ढुकढुक गर्यो । कति वेला निस्किनु जस्तो भयो ।
त्यस्तै, अन्तिममा डेथ रोड नामक हरर भिडियो देखाइयो । मानव कङ्कालहरु मेरो आँखा नजिक आए । स्पर्श गरे । मेरो शरीरलाई छुन खोजे ।
मैले हिम्मत हारिन । अघि बढिरहें । तेज दौडिएँ । र, ती कङ्काललाई जितेरै छाडे ।
त्यो भिडियो हेर्दा मैले आफूलाई पनि त्यहाँकै पात्र सम्झिएँ । लाग्यो म ‘भुतहरु मध्येको पनि हिरो’ हुँ । सबै भिलेनलाई जितेर अघि बढ्नु छ । केही वेरमै गन्तव्यमा पुगें ।
कुनै भिडियो गेम खेलिरहेको जस्तो पनि आभास नभएको होइन । कहिले ट्रेन कुदाई रहे झैँ लाग्थ्यो ।
बीच बाटोमै ट्रेनको लिक चुडिन्थ्यो । अनि रेल झ्याप्प तल खस्थ्यो । त्यति वेला हामी बसेको कुर्सी पनि तल झर्थो । सबै जना झल्यास्स हुन्थ्ये !
स्क्रीनमा पानी पर्दा मेरो शरीरमा पनि पानीका थोपाहरु चुहिए । पानीमा निस्किने बबल्सहरु मेरो शरीरमा लागेर फुटे । त्यो प्रविधि पनि मिलाइएको रहेछ ।
समुद्रमा हिँड्दा पानी मुनि भएका झार पातलाई खुट्टाले छुन्थें । सिट मुनि डोरीको व्यवस्था गरिएको रहेछ क्या र ! खुट्टामा डोरी नै आउँथ्यो ।
सुरुमा पैसा तिरेको पनि व्यर्थैं भयो भन्ने सोच्दै छिरेको थिएँ । बाहिर निस्किदाँ कति सस्तो है भन्न पुगेछु । २८ मिनेट भए पनि अर्कै संसारमा पुगियो । नयाँ अुनभव लिइयो ।
अझै धेरै समयको भिडियो राखिनु पर्छ जस्तो लाग्यो । कम्तिमा ५० मिनेटको भिडियो भए झन मज्जा हुने थियो । तर, जे होस्, ‘टुवेल डी’ ले नयाँ संसार देखायो । कोहेड कलेज, विर्तामोड, झापा
प्रतिक्रियाका लागि: subexchag@gmail.com