दमक । स्थानीय पुनर्संरचना आयोग जिल्ला प्रविधिक समितिल झापाले पुनर्संरचनामा दमकलाई उपमहानगरपालिका नबनाएको भन्दै झापा क्षेत्र नम्बर ७ का सबै राजनितीक दलहरुले आन्दोलन शुरु गरेका छन् ।
उनीहरुले झापा क्षेत्र नम्बर ७ अन्तरगतका दमक, लखनपुर, तोपगाछी र धरमपुरलाई समायोजन गरि दमक उपमहानगरपालिका नबनाएको भन्दै आन्दोलन शुरु गरेका हुन् ।
दमकमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै आन्दोलनका परिचालन समितिले आन्दोलनका कार्यक्रम अन्तरगत प्रस्तावित उपमहानगरपालिका भित्र रहेका सार्वजनीक र सरकारी कार्यालयहरुमा कालो झण्डा राख्ने, भोलिबाट अनिश्चित कालका लागि क्षेत्र नम्बर सात भित्र रहेको सम्पुर्ण सरकारी कार्यलयहरुमा तालाबन्दी गरिने आन्दोलन निर्देशन समितिका सहसंयोजक दुर्गा चौलागाई (श्रीकान्त)ले बताए ।
आन्दोलनलाई सशक्त र प्रभावकारी बनाउन नेकपा माओवादी केन्द्र क्षेत्र नम्बर ७ का इञ्चार्ज गंगन पुरीको संयोजकत्वमा ५ सय १ सदस्य आन्दलोलन परिचालन समिति गठन गरिएको छ ।
यस्तै आन्दोलनलाई सफल पार्न नेपाली काँग्रेसका महासमिति सदस्य सूरेश सुब्बाको संयोजकत्वमा क्षेत्र नम्बर ७ का सबै राजनितिक दलका एक/एक सदस्य रहने गरि निर्देशन समिति समेत गठन गरिएको छ ।
यसैगरि वार्ता तथा सम्बादका लागि नेकपा एमालेका एक नम्बर प्रदेश सदस्य देबेन्द्र दहालको संयोजकत्वमा राजनितिक पहल समिति गठन गरिएको छ ।
आन्दोलनको पहिलो चरणका कार्यक्रम अन्तरगत प्रधानमन्त्री, पुनर्संरचना आयोगका अध्यक्ष सबै राजनितीक दलका अध्यक्षलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम तय भएको आन्दोलन निर्देशन समिति संयोजक सूरेश सुब्बाले जानकारी दिए ।
दोस्रो चरणको कार्यक्रममा गाँउ गाँउमा जनता संग अन्तरक्रिया, जन प्रर्दशन, रिले अन्सन र तेश्रो चरणमा आमरण अन्सनको सम्म कार्यक्रम रहेको बताईएको छ ।
आफ्नो माग पुरा नभए सम्म क्षेत्र नम्बर ७ मा अत्यावस्यक सरकारी सवारी साधन बाहेक अन्य कुनै पनि सरकारी सवारी साधन सञ्चालन गर्न नदिने आन्दोलन परिचालन समिति संयोजक गगन पुरीले जानकारी दिए।
उनले भने, ‘हामी सरकारी सवारीका साधनहरु त सञ्चालनमा आउन दिदैनौँ नै अझ मन्त्रीनै आए पनि यहाँ उनीहरुलाई सरकारी सवारीमा समेत क्षेत्र नम्बर ७ भरि हिड्न दिदैनौँ’ ।