विर्तामोड । नेपाल सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र कार्कीले देशलाई समृद्ध बनाउन उद्योग व्यवसायको मुख्य भूमिका रहने बताएका छन् ।
सोमबार झापाको विर्तामोडमा भएको माओवादी केन्द्र निकट व्यवसायीको संगठन नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको प्रथम झापा जिल्ला भेलालाई सम्बोधन गर्दै मन्त्री कार्कीले ब्यापारीले व्यापार गर्दा आधुनिक क्षेत्रको पहिचान गरेर मात्र लगानी गर्नु पर्ने बताए ।
व्यपारलाई समय अनुसार परिवर्तन गर्दै लैजानु पर्नेमा जोड दिँदै मन्त्री कार्कीले भने, ‘ उत्पादित वस्तुलाई प्रशोधन गरेर मात्र बजार पुर्याउँदा त्यसको बजार सुरक्षित हुन्छ ।’
अन्नको उर्वर भूमिका रुपमा चिनिएको झापामा पछिल्लो समयमा जग्गा प्लटिङ्गले अन्न उत्पादनमा नकारात्मक प्रभाव पारेको उनको भनाइ थियो । यस्तो कार्य रोक्न जग्गाको वर्गीकरण गर्नु पर्ने उनले उल्लेख गरे । यस विषयमा आफूले सदनमा समेत कुरा उठाएको उनको भनाइ थियो ।
जमिन, जंगल, उद्योग तथा आवास निर्माणका लागि जमिनलाई वर्गिकरण गर्नु पर्ने र वर्गिकरण अनुसारकै कार्य सम्पादन हुनु पर्ने उनको धारणा थियो ।