कनकाई । नेकपा एमाले संसदीय दलका उपनेता एवम् पूर्व सभामुख सुवासचन्द्र नेम्बाङ्गले सुरुङ्गाले सुरु गरेको बन्द निषेधित क्षेत्र अभियानको सबैले सिको गर्नु पर्ने बताएका छन् ।
बन्द निषेधित क्षेत्रको रुपमा सुरुङ्गाले आफ्नो वेग्लै पहिचान स्थापित गराएको भन्दै उनले यो अभियानलाई देशैभर विस्तार गरिनु पर्ने धारणा राखे ।
आइतबार कनकाई माईको पूर्वी तटमा छठ पूजा समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सबैले सुरुङ्गाबाट सिक्नु पर्ने बताएका हुन् ।
‘आफ्नो प्रतिनिधिद्वारा संविधान लेख्ने नेपाली जनताको सपना पूरा भयो, अब मुलुक संविधान कार्यान्वयन र विकास निर्माणको चरणमा छ’, उनले भने, ‘अब बन्द गर्ने दिन गए ।’
यसैबीच, छठ पर्व समग्र नेपालीको साझा पर्वको रुपमा स्थापित हुँदै गएकोमा उनले खुशी व्यक्त गरेका छन् ।
यो पर्वले अहिले तराईवासीलाई मात्र नभई, पहाडी, हिमाली र समग्र नेपालीलाई छोएको उनले बताए ।
‘अब कुनै जात वा समुदाय विशेषको पर्वको रुपमा मात्र छठ रहेन’, उनले भने, ‘यो सबैको साझा पर्वको रुपमा स्थापित भइसकेको छ ।’
छठले समाजमा जातीय, सामाजिक र सामुदायिक सद्भावना फैलाएको भन्दै उनले खुशी व्यक्त गरे ।
एक फरक प्रसङ्गमा उनले क्रान्ति र उपलब्धीलाई संस्थागत गर्दै विकासको पथमा अघि बढ्नु पर्ने धारणा राखे । जसका लागि सबै दल एकजुट हुनु पर्ने उनको भनाइ थियो ।