पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज विश्वासको मत लिँदै छन् ।
विश्वासको मत लिन शुक्रबार ११ बजेका लागि तोकिएको सदन केही बेरमा सुरु हुँदैछ । मुख्यमन्त्री पोखरेलले मंगलबार संसद सचिवालयमा विश्वासको मत लिने सम्बन्धी प्रस्ताव दर्ता गराएका थिए ।
२९ जेठमा मुख्यमन्त्री नियुक्त भएका पोखरेललाई १ महिनाभित्र विश्वासको मत लिनैपर्ने बाध्यता छ । संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्री नियुक्त भएका पोखरेले २८ असारसम्ममा विश्वासको मत लिनैपर्ने बाध्यता भएपनि सरकारका कामकारबाही अघि बढाउन विश्वासको मत लिन लागेका हुन् ।
४ दलीय गठबन्धनमा किचलो आउन नदिन र सरकारका कारबाही अघि बढाउन विश्वासको मत लिएपछिमात्रै मन्त्रालय विस्तार गर्ने मुख्यमन्त्री पोखरेलले तयारी गरेका छन् ।
निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत प्राप्त गर्न नसकेपछि मुख्यमन्त्रीमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले पोखरलाई नियुक्त गरेकी थिइन् ।