काठमाडौ । विप्लव नेतृत्वको नेकपा माओवादीका आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । विप्लव माओवादीले भारतीय गोर्खा सैनिकलाई युद्ध क्षेत्रमा प्रयोग नगर्न भन्दै भारतीय दूतावासमा ज्ञापनपत्र बुझाउन लाग्दा उनीहरु रत्नपार्कबाट पक्राउ परेका हुन् ।
कात्तिक १६ गते भारतीय गोर्खा सैनिक बलबहादुर तामाङको भारतको काश्मिरमा बम गोलाबारीमा परि ज्यान गएपछि उनीहरुले गोर्खा सैनिकलाई युद्ध क्षेत्रमा प्रयोग नगर्न भन्दै ज्ञापनपत्र बुझाउन लागेका थिए ।
विप्लव माओवादीले गठन गरेको जनसकारका प्रमुख भनिएका सन्तोष बुढामगरको नेतृत्वमा ज्ञापनपत्र बुझाउन गएका पोलिटव्युरो सदस्य अनिल शर्मा विरहीसहित अन्य कार्यकताहरु केशव शर्मा, टंक जोशी, आकाश भेटवाल, दुर्गाप्रसाद अधिकारी, सूर्य भुजेल, धु्रव अधिकारी र प्रकाश अधिकारी पक्राउ परेका हुन् । पक्राउ परेका उनीहरुलाई नेपाल पुलिस क्लबमा राखिएको छ ।