जनकपुर । नेपाल भ्रमणमा रहेका भारतीय राष्ट्रपति प्रणव मुखर्जी जनकपुर आउने भएपछि सर्वसाधारणलाई बाहिर निस्कन रोक लगाइएको छ। सर्वसाधारणलाई बिहान सात बजेदेखि नै बाहिर निस्कन रोक लगाइएको हो।

अघोषित कर्फ्यु लागेपछि जनकपुरधाममा यतिबेला सडकहरु सुनसान छन्। चार हजारको संख्यामा सुरक्षाकर्मीहरु परिचालित गरिएको जनकपुरघाम आसपासमा सुरक्षा व्यवस्था कडा पारिएको छ। यहाँका पसलहरु बिहानैदेखि बन्द छन्। घरको झ्याल ढोकासमेत खोल्न दिएको छैन। सडक र चौक–चौकमा सुरक्षाकर्मीहरु तैनाथ अवस्थामा रहेका छन्।
शान्ति सुरक्षाको नाममा सर्वसाधारणलाई दुःख दिन नहुने स्थानीयवासीहरु बताउँछन्। उनीहरुले घोषित कर्फ्युनै भनिदिएको भए राम्रो हुने गुनासो गरेका छन्। ‘सरकारले बरु कर्फ्युनै लगाइदिएको भए राम्रो हुन्थ्यो।’ स्थानीयवासी सत्यनारायण यादवले भने, ‘यो घोषणा नगरिएको कर्फ्युबाट हामीले सास्ती भोग्नु परेको छ। सरकारले शान्ति सुरक्षाको नाममा मानिसलाई घरभित्र थुन्न मिल्छ?
त्यस्तै अर्का सर्वसाधारण प्रमेश्वर साहले विशिष्ट व्यक्तिलाई सुरक्षा दिनुपर्ने तर प्रशासनले अलि बढि नै कडाइ गरेको बताए।
(नेपाल खबरबाट)