काठमाडौं । अठार वर्षपछि हुन लागेको भारतीय राष्ट्रपतिको नेपाल भ्रमणले दुई देशको सम्बन्धमा न्यानोपन र व्यापकता आउने विभिन्न दलका नेताले बताएका छन् । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको बुधबारदेखि हुने तीनदिने नेपालको राजकीय भ्रमणले दुई देशबिचको उच्चस्तरीय भ्रमण आदानप्रदानले सम्बन्धमा न्यानोपन र व्यापकता बढ्ने विभिन्न पार्टी नेता एवम् पूर्व परराष्ट्रमन्त्रीहरुले बताएका छन् ।

राष्ट्रपति विधादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा भारतीय राष्ट्रपति मुखर्जी नेपालको राजकीय भ्रमणमा आउन लागेका हुन् । सरकार–सरकार र नागरिक–नागरिकबिचको बहुआयामिक र ऐतिहासिक सम्बन्ध रहेको नेपाल र भारतबिचको उच्चस्तरीय भ्रमणको आदानप्रदानले दुई देशका बिचमा बेलाबखत देखापर्ने उतार चढावलाई न्यूनीकरण गरी आपसी विश्वास समेत बढाउने उनीहरुको धारणा छ ।
नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री भीमबहादुर रावलले छिमेकी देशको राष्ट्राध्यक्षको यस भ्रमणले आपसी सम्बन्धमा न्यानोपन ल्याउने बताए ।
नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले पनि भारतीय राष्ट्रपति मुखर्जीको भ्रमणले दुई देशबीचको भावनात्मक सम्बन्धलाई प्रगाढ बनाउने बताउँदै भ्रमण कार्यकारी प्रकारको नभएकाले दुई देशबिचका ठोस समस्याको समाधानतर्फभन्दा पनि आपसी सम्बन्ध राम्रो बनाउने वातावरण सिर्जनामा केन्द्रित हुने अपेक्षा व्यक्त गरे ।
नेपाली कांग्रेसका नेता एवम् शहरी विकासमन्त्री अर्जुननरसिंह केसीले भारतीय राष्ट्रपति मुखर्जीको भ्रमणले आपसी सद्भाव अभिवृद्धि गर्ने भएकाले यसको कहाँ कति सदुपयोग गर्न सकिन्छ भन्नेबारेमा नेपालले सोच्नुपर्ने जनाउँदै आपसी सम्बन्ध र आर्थिक विकासका दृष्टिले भ्रमणले सानिध्यता बढाउने धारणा राखे ।
तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले पछिल्ला समयमा नेपाल र भारतबिचको सम्बन्धमा सुधार आएको र भ्रमणले थप सदभाव बढाउने प्रतिक्रिया दिए । यसअघि भारतीय राष्ट्रपति केआर नारायणनले विसं २०५५ जेठ १४ गते नेपालको भ्रमण गरेका थिए ।