काठमाण्डौं । भारतको कर्नाटकका पूर्वमन्त्री तथा अरबपति गली जनार्दन रेड्डीले आफ्नी छोरी ब्राह्मणीको बिहामा धक फुकाएर खर्च गर्ने भएका छन् ।

अर्को महिना हुने यस विवाहको निमन्त्रण पत्रमा एलसिडी स्क्रीन लगाइएको छ । पत्र खोल्दा टिभीमा पारिवारिक भिडियो गीत बज्छ अनि गीतमार्फत पाहुनाहरूलाई निम्तो गरिन्छ । कन्नड भाषामा अतिथिदेवो भवको गीत बज्छ ।
गीतसँगै स्क्रीनमा ब्राह्मणी वेड्स राजीव रेड्डी लेखिएको देखिन्छ ।
त्यसपछि भिडियोमा जनार्दन, उनकी पत्नी, छोरी ब्राह्मणी र छोरो राजीवले कन्नडमा अतिथिदेवो भव भन्छन् ।
कार्डमा शाब्दिक निमन्त्रणा पनि छापिएको छ तर त्यसमा नजर पर्नुअघि नै भिडियो खुल्न थाल्छ ।
भिडियोमा निमन्त्रणको थिम बलिउडी गीतजस्तै छ । यसमा बेहुला र बेहुलीले एक अर्कालाई लजाएर हेर्छन् । अनि उनीहरूको परिचय दिइन्छ । लहंगा लगाएकी दुलही स्लो मोसनमा घुम्न थाल्छिन् । दुलाहाको पछाडि सेतो घोडालाई सजधज गरेर राखिएको छ ।
एक मिनेटको यो भिडियो फेमिली क्लोजअपका साथ टुंग्याइएको छ । त्यसपछि बिहाको तिथि र स्थान बताइएको छ ।
यो बिहेमा ठूलाठूला राजनीतिकर्मी र फिल्म स्टारहरू आउने बताइएको छ । गत महिना मात्र ब्राह्मणी र राजिवको धुमधामका साथ इन्गेजमेन्ट भएको थियो ।
गली जनार्दन रेड्डी खानीहरूको उत्खननबाट धनी भएका हुन् । अवैध उत्खननको आरोपमा उनलाई तीन वर्षको जेल सजाय पनि भएको थियो । उनी येदियुरप्पा सरकारमा मन्त्री पनि भएका थिए ।
हेरौं भिडियो :
https://youtu.be/AOnE7dfORXg