विर्तामोड । नेकपा माओवादी केन्द्र विर्तामोड नगर कमिटीले कात्तिक १३ गते खुल्ला सडक दौड प्रतियोगिता सञ्चालन गर्ने भएको छ । संविधान कार्यान्वयनमा केन्द्रीत हुन राजनीतिक दलका नेतृत्वलाई दवाव दिने उदेश्य अनुरुप दौड प्रतियोगिता आयोजना गरिएको हो ।

विर्तामोडको मुक्तिचोकबाट शुरु हुने दौड प्रतियोगिता महानन्दचोक, माता मन्दिर हिमालयाज धर्मकाँटा रोड हँुदै दुर्गा मन्दिरमा समापन गर्ने कार्यक्रम तय भएको आइतवार बिर्तामोडमा आयोजित पत्रकार भेटभाट कार्यक्रममा जानकारी दिइयो । प्रतियोगितामा प्रथम, दोस्रो, तेश्रो, चौथो र पाँचौँ हुनेलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको माओवादी केन्द्र बिर्तामोड नगर इन्चार्ज कुवेर श्रेष्ठले जानकारी दिए । उनका अनुसार दौड प्रतियोगितामा सबैपक्षका समुदायलाई सहभागी गराउने लक्ष्य राखिएको छ ।
प्रतियोगितामा प्रथम हुनेलाई ११ हजार बराबरको रकम वा खसी, दोस्रोलाई ७ हजार रुपैयाँको किनमेल, तेस्रोलाई एउटा साइकल, चौथोलाई होटल डेसिनयलमा ५ जनालाई लन्च, पाँचाँै हुनेलाई दुई हजार बराबरको भाले र छैटाँै स्थान प्राप्त गर्ने ५ जनालाई ढाकाटोपीको व्यवस्था गरिएको माओवादी केन्द्र बिर्तामोडका सह–इन्चार्ज श्री सिटौलाले बताए ।
प्रतियोगिताको उद्घाटन नेपाल सरकारका प्रवत्ता एवं सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले गर्ने कार्यक्रम तय भएको पार्टीका नगर संयोजक शिवकुमार कन्दङ्वाले बताए ।
पत्रकार भेटघाट कार्यक्रममा नेकपा माओवादी केन्द्रका २ नम्बर क्षेत्रीय इन्चार्ज ज्योतिसिंह दर्लामी, नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य तथा पूर्वाञ्चल संयोजक गणेश पोखरेल लगायतले खेलकूद क्षेत्रले सबै बर्ग तथा समुदायलाई एकत्रित गर्न सहयोग पुर्याउने बताए ।
माओवादी केन्द्र बिर्तामोड नगर कमिटीले प्रत्येक वर्ष पर्वको अवसरमा रचनात्मक कार्यक्रम गर्दै आएको छ । त्यसैलाई निरन्तरता दिँदै पार्टीले यो बर्ष खुल्ला दौड प्रतियोगिता आयोजना गर्न लागेको हो ।