काठमाडौं, कात्तिक ५ । नेकपा माओवादी केन्द्रका सांसद तथा महाअभियोग सिफारिस समितिका सदस्य रामनारायण बिडारीले अबको साढे दुई महिनाभित्र अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावले पूर्णता पाउने दाबी गरेका छन् ।
राजधानीमा शुक्रबार आयोजित साक्षात्कारमा बिडारीले अबको साढे दुई महिनाभित्रै यो प्रस्तावले पूर्णता पाउने दाबी गरेका हुन् । उनले थपे, ‘सामान्यतः ३० दिनसम्म यो प्रस्तावबारे महाअभियोग प्रस्ताव समितिमा छलफल हुन्छ, संसदमा ५९५ जना सांसदहरुले बोल्न पनि सक्छन्, सबैले बोल्दा केही समय लाग्ला ।’
विडारीले सरकार परिवर्तनको उद्देश्यले यो प्रस्ताव नआएको जिकिर समेत गरे । उनले थपे, ‘बजारमा माओवादीले एमालेसँग प्रस्ताव ल्यायो । सरकार ढाल्न थाल्यो भन्ने हल्ला समेत चल्यो । तर यसमा कुनै सत्यता छैन, यो त विशुद्ध संवैधानिक अंगका प्रमुखले अदालतलाई गरेको अपमानको विरुद्धमा ल्याईएको प्रस्ताव हो ।’
अख्तियार प्रमुख कार्कीले स्वतन्त्र न्यायपालिकालाई खिल्ली उडाउने काम गरेकोले जनताको पक्षमा आफूहरुले प्रस्ताव ल्याएको उनको दाबी थियो ।
