काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार अहिले खुकुरीको धारमा रहेको टिप्पणी गरेका छन्। नेकपा माओवादी केन्द्रले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै प्रचण्डले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा जस्तो सजिलो अवस्था अहिले नभएको बताए।
‘हामीले पहिलो पटक सरकारको नेतृत्व गरेकोजस्तो सजिलो अवस्था अहिले छैन’ उनले भने ‘अहिले खुकुरीको धारमा हिँड्नुपर्ने अवस्था छ, त्यसैले हामी एकतावद्ध भएर हिँड्नुपर्छ।’ आफूले सरकारको नेतृत्व लिएको दिनदेखि दिनदिनै सरकारको गलत प्रचार गर्ने काम भइरहेको भन्दै प्रधानमन्त्री प्रचण्डले परम्परागत शक्तिहरुले माओवादीले देशलाई एकतावद्ध बनाएको देख्न नसकेको आरोप लगाए।
‘परम्परागत शक्तिहरुले अन्तर्राष्ट्रिय मञ्चहरुमा नेपालको हितमा काम गरेको देख्न सकेको छैन। मैले सरकारको नेतृत्व लिएकै दिनदेखि प्रचार डे टु डे गलत प्रचार गर्ने काम भएको छ’ उनले भने ‘सरकारका विरुद्धमा अफवाह फैलाउने काम भएको छ।’
माओवादी नेतृत्वको अहिलेको सरकारले यसअघि कुनै सरकारले पनि गर्न नसकेको काम गाउँ गाउँमा रकम पठाएको बताए। उनले कार्यकर्ताहरुलाई सिंहदरबार वरपर मात्र नघुमेर गाउँमा पठाएको रकम सदुपयोग गर्न आग्रह गरे।
‘हाम्रा साथीहरुलाई गाउँ जानुस् भन्दाखेरि सितिमिति गाउँ जानेवाला छैनन् त्यसैले अहिलेसम्म कसैले नपठाएको रकम म गाउँमा पठाउँदैछु’ प्रधानमन्त्री प्रचण्डले भने ‘तपाई कार्यकर्ताहरुले त्यो रकमको सदुपयोग गर्नुहोला।’