काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले हिन्दु धर्म तथा त्यसको दर्शनको व्यवहारभित्र घुसेको राजनीतिले राष्ट्रमा असन्तुलन निम्त्याउने बताएका छन्।
![]()
पशुपतिस्थित वनकालीमा अन्तर्राष्ट्रिय विराट हिन्दु सम्मेलन उद्घाटनपछि सार्वजनिक मन्तव्य व्यक्त गर्दै पूर्वराजा शाहले राष्ट्रमा असन्तुलन आए उपेक्षा जन्माउने र त्यसले विद्रो निम्त्याउने बताए।
उनले हिन्दु धर्म संस्कृतिमाथि कालो बादल मडारिएको छ भन्दै यसको जगेर्ना गर्न खाँचो रहेको बताए।
समग्र राष्ट्रको परिस्थिति र राजनीतिक गतिविधि लिपिबद्ध नै रहेको भन्दै शाहले राजनीतिक हस्तक्षेप, जनताको निराश आफ्ना लागि अभिशापसिद्ध भएको बताए। ‘यस्तो जटिल परिस्थिति मुलुकमा कसरी आयो, किन र कसरी सिर्जना भयो? यसका कारकतत्व के-के हुन्? नेपाली जनताले प्रश्न गर्ने बेला आएको छ,’ शाहले भने।
आस्था, इतिहास, धर्म, दर्शन, संस्कृति देशका धरोहर र शान भएको भन्दै उनले यिनको समुचित रुपमा संरक्षण सम्बर्द्धन हुनुपर्ने बताए। ‘दर्शनलाई नयाँ सोच चाहिएको छ। पुरानै बाटोमा अगाडि बढ्न सकौं। यस्तो शक्ति होस् भइरहेकोलाई सजिलोसँग फैलाउन सकोस्,’ उनले भने।
धर्मले राष्ट्रको आस्था, अखण्डता, एकता, सहिष्णुता अभिवृद्धि गर्ने र आन्तरिक तथा अन्तर्राष्ट्रिय सद्भाव बृद्धि गर्न भूमिका खेल्ने शाहले बताए। ‘अनादिकालदेखि चलिआएको हिन्दु सनातन धर्म, समस्त अध्यात्मवादको उत्तम पृष्ठभूमि हो। नेपाल हिन्दु बौद्धहरूको लागि प्रेरणाको स्रोत हो,’ शाहले भने, ‘आज हाम्रो संस्कृतिमाथि कालो बादल मडारिएको छ। हाम्रो परापूर्वकालदेखि चलिआएको संस्कृतिको जगेर्नाको खाँचो परेको छ।’
शाहले जुनसुकै युग, देश र कालमा पनि सत्य सत्य नै रहने बताए। हजारौं वर्ष पुरानो सभ्यता, संस्कृति र धर्मको रक्षा गर्न सके राष्ट्रियताप्रतिको संवेदनशीलता, दिगो शान्ति र स्वाभिमानको रक्षा गर्न सकिने शाहले बताए। ‘हामी प्रश्न गर्न चाहन्छौं, विश्वमानचित्रको हिन्दु धर्मको संरक्षण, धार्मिक सांस्कृतिक आध्यात्मिकता जोगाउने हाम्रो दायित्वभित्र पर्दैन?,’ शाहले भने। ‘जहाँ हिन्दु हुन्छ, त्यहाँ शान्ति र सद्भाव हुन्छ’ भन्दै शाहले सबैको प्रयासले मात्र एकता र समुन्नति हुने बताए।