काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधनका लागि अन्तिम तयारी भइरहेको दाबी गरेका छन् ।

व्यवस्थापिका–संसदको बुधबार बसेको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले अनौपचारिकरुपमा संविधान संशोधनको विषयमा सबै पक्षसँग छलफल भइरहेको भन्दै संशोधनको अन्तिम मस्यौदा तयार भइरहेको जिकिर गरे ।
प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमण पूर्णरुपमा सफल भएको भन्दै राष्ट्रिय हितलाई सर्वोपरि ठानेर भारतसँग पुराना सहमति कार्यान्वयनका लागि अनुगमन गर्ने विषयमा जोड दिइएको बताए ।
संविधान संशोधनको प्रयासबारे आफूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग गरेको कुराकानीलाई नेपालभित्र अतिरन्जित गरिएको गुनासो पनि प्रधानमन्त्री दाहालले गरे ।
‘ब्रिक्स–बिमिस्टेक’ सम्मेलनकाक्रममा चीनका राष्ट्रपति र भारतका प्रधानमन्त्रीसँग भएको छलफल निकै उपलब्धिमूलक भएको भन्दै उनले मोदी र सीसँगको संयुक्त भेट सुखद् संयोग भएको बताए ।
चिनियाँ राष्ट्रपतिले छिट्टै नेपाल भ्रमण गर्ने वचन दिएको पनि दाहालले जानकारी दिए ।
भूकम्पपछिको पुनःनिर्माणमा सरकारले धेरै काम गरेको भन्दै उनले अहिलेसम्म चार लाख ३० हजार ८ सय ६४ घरधुरीसँग अनुदान सम्झौता भएको जानकारी दिए ।