काठमाडौँ – तराई मधेश लोकतान्त्रिक पार्टीको बैठक सो पार्टीका नेता गोविन्द चौधरीले बहिष्कार गरेका छन् । पार्टीको कार्यसमिति निर्माणबाट असन्तुष्ट रहेका गोविन्द चौधरीले आजको बैठक बहिष्कार गरेका हुन् ।
गृह जिल्ला नवलपरासीमा रहेका नेता चौधरीलाई बैठकबारे पार्टीले खबर गरेपनि उनी अनुपस्थित रहे ।
रातोपाटीले बैठकमा किन उपस्थित नभएको जिज्ञासा राख्दा उनले असमावेशी पदाधिकारी रहेको बैठकमा किन सहभागी हुने ? भन्दै प्रश्न गरे ।
पार्टी असमावेशी रहेको भन्दै उनले असन्तुष्टि जनाउँदै आएका छन् । उनले महाधिवेशनपछि पार्टीका अध्यक्ष महन्थ ठाकुरले पार्टीको केन्द्रीय सदस्य तथा पदाधिकारी मनोनित तथा चयन गर्दा असमावेशी ढंगबाट गरेको भन्दै विरोध गरेका थिए ।
स्थापनाकालदेखि पार्टीका महासचिव रहेका उनलाई अध्यक्ष ठाकुरले केन्द्रीय सदस्यमा थन्काई दिएका छन् । यसैगरि सो पार्टीका महासचिव जितेन्द्र सोनल पनि अनुपस्थित रहेका छन् ।
यस विषयमा उनलाई सम्पर्क गर्दा आफूलाई बैठकको बारेमा जानकारी रहेको तर विशेष कामले दिल्ली आउनु पर्ने भएकाले बैठकमा नगएको प्रतिकृया दिए ।
आज विहानदेखि पार्टीको पदाधिकारी, जिल्ला अध्यक्ष, संसदीय दलसहितको बैठक बसिरहेको छ ।