काठमाडौं । सांसदहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीको अवस्थाबारे जानकारी गराउन सरकारसँग माग गरेका छन् ।
मंगलबारको संसद बैठकमा कांग्रेस सांसद राधेश्याम अधिकारीले अख्तियार प्रमुख कार्कीको अवस्थाबारे जानकारी गराउन सरकारसँग माग गरेका हुन् ।
अख्तियार प्रमुख कार्की कहाँ र कति बिदा लिएर बसेको भन्ने बारे अन्यौल रहेको भन्दै उहाँले त्यसबारे स्पष्ट पार्न सरकारको ध्यानाकर्षण गराए ।
कार्कीले सर्वोच्च अदालतको म्याद तामेल बुझ्न नमान्नुले न्यायपालिकामाथिको गरिमामा आच आएको पनि उनको भनाई छ ।
संसद बैठकमा उनले भने, ‘संवैधानिक पदका पदाधिकारीलाई महाअभियोग लगाउने बाहेक अन्य कुनै अवस्थामा पनि पद छोडाउन सकिँदैन । संविधानले दिएको त्यो विशेषाधिकार सम्पन्न व्यक्ति विशेषले संविधान, कानुनकै खिल्ली उडाउँदा पनि हामी सांसद र संसदले टुलुटुलु हेरेर बस्न मिल्छ ?’
यस्तै नेकपा एमालेका सांसद रेवतीरमण भण्डारीले अख्तियार प्रमुख कार्कीले अदालतको अपमान गरेकाले संसद चुप लागेर बस्न नहुने बताए ।