धादिङ । नेकपा एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले माओवादी केन्द्र र नेपाली कांग्रेस गर्दै आएको संविधान संशोधनको कुरा राजनीतिक चालबाजीमात्र भएको बताएका छन् ।
सोमबार धादिङबेसीमा प्रेस चौतारीले गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता भट्टराईले माओवादी केन्द्र र कांग्रेसले संविधान संशोधनको कुरा गर्नु राजनीतिक स्वार्थमात्र भएको बताएका हुन् ।
केही मान्छेको स्वार्थका लागि संविधान संशोधनको प्रस्ताव ल्याएमा एमालेले यसमा साथ दिँदैन भन्दै उनले संविधान संशोधनको औचित्य पुष्टि गर्न चुनौती दिए ।
‘भोलि धेरै मान्छेले संविधान संशोधन गर्न भनेको बेला के गर्ने ?’ प्रश्न गर्दै भट्टराईले ‘मधेसलाई मात्र एकातिर राखेर प्रदेश बनाउन खोजेमा एमालेले सशक्त विरोध गर्छ’ भने । अहिले परराष्ट्र मामिलामा सरकार फेल भएको भन्दै उनले भारतसँग विवादास्पद हस्ताक्षर गरी गर्नै नहुने काम गरेको उल्लेख गरे ।