थाइल्याण्ड । अत्यन्तै अविश्वसनीय भिडियो सार्वजनिक भएको छ जसमा एक हात्तीले डुब्न लागेका आफ्ना प्रिय प्रशिक्षकलाई उद्धार गर्दै गरेको देखिएको छ । भिडियोमा एक खाम्ला नामको हात्ती ड्यारिक टम्सन नामका डुब्न लागेका आफ्ना प्रशिक्षकलाई जोगाउन खोलामा पसेको देखिन्छ । यो घट्ना हात्ती प्राकृतिक पार्क, चियाङ माई थाइल्याण्डको हो ।

प्रशिक्षक टम्सनले उक्त हात्ती र आफूबीच अत्यन्त निकट सम्बन्ध भएको बताए । गत वर्षमात्रै उक्त हात्तीलाई कुनै ‘एक पर्यटन उद्योग’बाट उद्धार गरेर यहाँ ल्याइएको उनले बताए । खाम्ला पाँच वर्ष उमेरको हात्ती हो ।

क्यानडाका ड्यारिकले आफूलाई आपत् आइपरेको झैँ अभिनय गर्दै चिच्याएका थिए र पानीमा छाप्लाङछुप्लुङ गरेका थिए । भिडियोमा नदीको एक किनाराबाट अर्को किनारातर्फ चिच्याइरहेका ड्यारिकलाई उद्धार गर्न हात्ती लम्केको देखिन्छ । यति मात्र होइन, ड्यारिकलाई हात्तीले भेट्टाएपछि आफ्नो सुँडले आफ्नो काँधमाथि राख्ने प्रयास समेत ग-यो ।

ड्यारिकका अनुसार यो संरक्षण केन्द्रमा ल्याइनुपूर्व उक्त हात्तीलाई अत्यन्तै क्रुर र पर्यटन व्यवसायका लागि कठिन तालिम दिइएको थियो । ड्यारिकले भने, ‘हामीले उनलाई त्यहाँबाट मुक्त ग-यौँ र उ मसँग धेरै निकट भएको थियो । ’ थाइल्याण्डबाट हात्तीका बच्चा (छावा)लाई निर्मम तरिकाले पिटेर तालिम दिने चलन छ । यसो गर्दा हात्तीहरूले पछि मान्छेलाई आक्रमण गर्दैनन् भन्ने ठानिन्छ । अहिले संरक्षण केन्द्रमा ‘खाम्ला’ हात्तीले आनन्दको जीवन बिताइरहेको छ । (डेली मेल)