
काठमाडौं, असोज १३ । सरकारले संसदमा विचाराधीन अवस्थामा रहेको मनमोहन अधिकारी स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी विधेयक फिर्ता लिने निर्णय गरेको छ । बिहिबार सिंहदरबारमा बसेको मन्त्रीपरिषदको बैठकले राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठान (न्याम्स) को नाम परिवर्तन गरी ‘मनमोहन स्मृति स्वास्थ्य विज्ञान प्रतिष्ठान’ राख्ने निर्णय गरेको सरकारका प्रवक्ता सुचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले जानकारी दिए ।
स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै नवौं पटक अनसनरत डाक्टर गोविन्द केसीसंग यसअघि भएको सम्झौताको कार्यान्वयन स्वरुप सरकारले न्याम्सको नाम परिवर्तन गरी मनमोहन स्मृति राष्ट्रिय विज्ञान प्रतिष्ठान राख्ने र यसअघि सो मेडिकल कलेजको सम्बन्धनकालागि अघि बढेको बिधेयक फिर्ता लिने निर्णय गरेको हो ।
डाक्टर केसीको काठमाडौं उपत्यकामा नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने प्रमुख माग बिपरीत एमाले सम्बद्ध नेताहरुले यसअघि मेडिकल कलेजको सम्बन्धनका लागि आफु नेतृत्वको सरकारलाई पटकटपक दबाब दिएका थिए ।
मन्त्रीपरिषद बैठकले यसअघि संसदबाट अस्विकृत राष्ट्र ऋण उठाउने विधेयक संसदमा पेस गर्ने निर्णय गरेको छ । यस्तै बैठकले अर्थ मन्त्रालयको आर्थिक सल्लाहकारमा पुण्य प्रसाद रेग्मीलाई नियुक्त गर्ने निर्णय समेत गरेको छ ।