भद्रपुर । जिल्ला कृषि विकास कार्यालय र पशु सेवा कार्यालय झापाले संयुक्त रुपमा चालु आर्थिक बर्ष २०७३।७४ को बार्षिक बजेट, निति तथा कार्यक्रम शुक्रबार सार्वजनिक गरेका छन् ।
जिल्ला विकास समिति झापाको सभाहलमा सांसद दिपक कार्कीको प्रमुख आतिथ्यतामा कृषि तथा पशु कार्यालयले आफ्नो बजेट सार्वजनिक गरेका हुन् ।
कार्यक्रममा जिल्ला पशु सेवा कार्यलय झापाका पशु चिकित्सक कुमारसिंह खत्रीले यस बर्ष झापामा ७ करोड ८ लाख ४३ हजार बजेट विनियोजित भएको कार्यपत्र प्रस्तुत गरेका थिए । जसमा पशु सेवा प्रसार कार्यक्रममा ४ करोड ९ लाख ५२ हजार, पशु विकास सेवा तर्फ १ करोड ९९ लाख ६५ हजार, पशु आहारा सेवा तर्फ ३५ लाख ५ हजार, पशु स्वास्थ्य, रोग अन्वेषण तथा क्वारेन्टाइन तर्फ ५९ लाख २१ हजार र दलित, अपाङग, विपन्न मधेशी, सिमाकृत वर्ग लक्षित पशुपक्षी आधारित उत्पादनमुलक तर्फ ५ लाख बजेट विनियोज गरिएको पशु चिकित्सक खत्रीले बताए ।
त्यसैगरि कृषि विकास कार्यालय झापाका प्रमुख मेघनाथ तिमसिनाले झापामा कृषि विकासका अवसर र चुनौतिका विषयमा बार्षिक कार्य पत्र प्रस्तुत गरेका थिए । कार्यपत्र प्रस्तुत गर्दै उनले झापामा कृषि तर्फ २ करोड ७२ लाख ८६ हजार बराबरको निक्षेपित बजेटमा कृषक लक्षित कार्यक्रम समावेश गरिएको बताए । उनले च्याउ खेती ,मत्स्य पालन, विउ वितरण, वालि संरक्षण लगायतका क्षेत्रहरुमा उल्लेखनिय कार्य गर्दै आएपनि यस बर्ष ती शिर्षकहरुमा केही बजृट कटौती भएको बताए ।
स्थानिय विकास अधिकारी खेमराज ओझाको अध्यक्षता सम्पन्न कार्यक्रममा पशु सेवा कार्यालयका प्रमुख डा. माधव दाहालले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन कृषि विकास कार्यालयका शालिकराम भटटराईले गरेका थिए ।