काठमाण्डाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चारदिने राजकीय भ्रमणका लागि दिल्ली उडेका छन् । नेपाल वायु सेवा निगमको ध्वजावाहक जहाज चढेर उनी बिहीवार विहान ११ बजे दिल्ली प्रस्थान गरेका छन् ।

एक सय १६ सदस्यीय टोली सहित उनी दिल्ली उडेका हुन् । दाहालले बिहीवार दिल्लीमा रहेका व्यवसायी, विद्यार्थी, राजनीतिक कार्यकता र सञ्चारकर्मीसँग भेटघाट गर्नेछन् ।
शुक्रवारदेखि उनले महत्वपूर्ण भेटघाट गर्नेछन् । शुक्रवार उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति प्रणव मुखर्जीसँग भेटघाट गर्नेछन् । सोही दिन राष्ट्रपति भवनमा हुने गार्ड अफ रनर समारोहमा समेत उनी समावेश हुने छन् ।
यस्तै, प्रधानमन्त्री दाहालले हिमाञ्चल प्रदेशमा निर्माणाधीन नाथ्पा झाँक्री जलविद्युत् परियोजनाका साथै हरिद्वारमा रहेको पतञ्जली योगपीठ र त्यससँग सम्बन्धित विभिन्न उद्योगको समेत निरीक्षण गर्नेछन् ।
त्यसैगरी, प्रधानमन्त्री दाहालले नयाँ दिल्लीमा बसोबास गर्दै आएका नेपाली समुदायका उद्योगी तथा व्यवसायीसँग अन्तर्क्रिया गर्ने कार्यक्रम पनि तय भएको छ । सबै कार्यक्रम सम्पन्न गरेर प्रधानमन्त्री दाहाल आगामी असोज २ गते स्वदेश फिर्ता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा केही महत्वपूर्ण सन्धि सम्झौता हुने सम्भावना रहेको बताइएको छ ।
तर प्रधानमन्त्रीले भने नयाँ सम्झौता गर्नु भन्दापनि भ्रमण पूरानो सम्झौता कार्यान्वयनमा केन्द्रित हुने बताउँदै आएका छन् ।