
काठमाडौं, भदौ २८ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले डा. गोविन्द केसीको माग यथाशीघ्र सम्बोधन गर्न दुई मन्त्रीलाई निर्देशन दिएका छन् । मंगलबार विहान स्वास्थ्यमन्त्री गगनकुमार थापा र शिक्षामन्त्री धनीराम (डिआर) पौडेल लगायतसँग बालुवाटारमा प्रधानमन्त्रीले डा. केसीको मागका बारेमा गम्भीर भएर लाग्न निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार गोविन्द आचार्यले जानकारी दिए । प्रधानमन्त्रीले मन्त्रीहरुहरुलाई आफ्नो न्युयोर्क भ्रमण अगाडि डा. गोविन्द केसीको माग सम्बोधन गर्न निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार आचार्यले जानकारी दिए ।
स्वास्थ्य क्षेत्रमा रहेको विकृति र विसङ्गति अन्त्यका लागि सरकारले कुनै कदम नचालेको भन्दै डा. केसी आठ पटक आमरण अनसन बसिसकेका छन् । उनले सरकारले आफ्नो माग सम्बोधन नगरेको भन्दै नवौ पटक आमरण अनसन बस्ने घोषणा गरेका छन् । उनले सरकारले आफूले अघि सारेका माग पूरा नगरे असोज दुईगतेदेखि आमरण अनसन बस्ने घोषणा गरेपछि प्रधानमन्त्रीले उनको माग सम्बोधनका लागि मन्त्रीहरुसँग छलफल गरेका हुन् ।
प्रधानमन्त्रीले दुई मन्त्रीहरुलाई समय तोकेरै माग सम्बोधन गर्न निर्देशन दिएका हुन् ।
यस्तो भयो निर्णय
१.चिकित्सा शिक्षा शास्त्र विधेयक कार्यसूचिमा राख्ने
२.टिचिङमा दलगतभन्दा पनि बरिष्ठताका आधारमा डिन नियुक्ति गर्ने
३.शिक्षाशास्त्र विधेयक पारित नभए सम्म कुनैपनि मेडिकल कलेजलाई सम्बन्धन नदिने
बैठकमा स्वास्थ्य मन्त्री गगन थापा, शिक्षामन्त्री धनीराम (डिआर) पौडेल, डा. केदारभक्त माथेमा, र आयोगका पदाधिकारी सहित, पूर्व मुख्य सचिव लीलामणी पौडेल लगायतसँग प्रचण्डले छलफल गरेका थिए ।
छलफलमा प्रचण्डले डा. केसीका मागहरुलाई सम्बोधन गर्ने विषयमा राय सुझाव मागेका थिए । डा. केसीका मागका विषयमा प्रधानमन्त्री नहुँदै प्रचण्डले केसी अनसनरत् बसेका बेला उनका मागमा समर्थन गर्दै आएका थिए ।
प्रधानमन्त्रीले प्रक्रियागतरुपमा कुन कुन माग कसरी सम्बोधन गर्ने विषयमा छलफल गरेको सचिवालयले जनाएको छ । सचिवालय सदस्य प्रकाश दाहालले फेसबुकमा स्टाटस लेख्दै भनेका छन्, “आशा छ, डा. केसीले अब अनसन बस्नुपर्ने छैन ।”