काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी ६ महिनाभित्र एकसयवटा लामा दूरीका बस सरकारले सञ्चालन गर्ने बताएका छन् ।
व्यवस्थापिका संसदमा बोल्दै प्रचण्डले छ महिनाभित्र एक सयवटा लामा र स्तरीय ठूला बस खरिद गरेर काठमाडौं उपत्यका, विराटनगर, जनकपुर, विरगञ्ज, भरतपुर, बुटवल, नेपालगञ्ज, धनगढी, पोखरा, सुर्खेत र घोराही लगायत शहरमा नगरपालिकामार्फत सञ्चालन गरिने बताए ।
सवारी दुर्घटना बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै प्रधानमन्त्रीले त्यस्तो त्रासदीपूर्ण स्थिति दोहोरिन नदिन मैले सम्बन्धित मन्त्रालयका माननीय मन्त्री र उच्च पदाधिकारीलाई लिखित रुपमा र कार्यालयमै बोलाएर सुधारका कार्यक्रम तत्काल थाल्न निर्देशन दिएको जनाए ।
“ यो सरकार यातायात क्षेत्रमा सिण्डिकेट तोड्न प्रतिवद्ध छ । एकाधिकार तोडिएपछिको यातायात नियमन गर्न र यातायात क्षेत्रमा कार्यरत लाखौ मजदुरहरूको पेशागत सुरक्षा तथा उचित पारिश्रमिकको व्यवस्था मिलाउन पनि प्रतिवद्ध छ ।” प्रचण्डले भने । प्रधानमन्त्री प्रचण्डले अब सडक निर्माण र मर्मतमा संलग्न निकाय, सवारी धनी, इजाजत दिने निकाय लगायतका सम्वद्ध सबै पक्षलाई सडक सुरक्षा सम्वन्धमा जिम्मेवार तुल्याउने गरी सडक सुरक्षा सम्वन्धी एकीकृत कानून तर्जुमा गरिने समेत बताए ।
संसदमा सम्बोधनका क्रममा प्रचण्डले आगामी ६ महिनाभित्र उपत्यकाका ट्याक्सी सवारी प्रयोगकर्ताले कम्प्युटर विल प्राप्त गर्न सक्ने व्यवस्था गरिने बताए । यसैगरी काठमाण्डौ उपत्यकाका दुई वटा रुटमा एकीकृत सार्वजनिक परिवहन प्रणालीबाट सार्वजनिक यातायात सेवा शुरु गरिने उनले घोषणा गरे ।
उनले भने, “ उपत्यकाको कम्तिमा एउटा रुटमा सार्वजनिक आयतयातका लागि छुट्टै लेनको व्यवस्था गरिनेछ । ” मधेश र मधेशी जनताका लागि महत्वपूर्ण हुलाकी मार्ग निर्माणमा ढिला सुस्ति अब मान्य नहुने बताउँदै प्रधानमन्त्रीले हुलाकी सडकको प्रथम चरणमा कुल ५२० कि।मी। सडक वैदेशिक सहयोगबाट नपुग रकम नेपाल सरकारको आफ्नै स्रोतबाट व्यहोर्ने गरी निर्माण गर्ने निर्णय भइसकेको बताए ।
प्रचण्डले कञ्चनपुर जिल्लाको महेन्द्रनगर र दोधारा चाँदनी जोड्ने ४ लेनको महाकाली नदीको पुलको ठेक्का पट्टा बन्दोबस्त गरी यसी आर्थिक वर्षदेखि निर्माण आरम्भ गरिने बताए भने मुग्लिन–नारायणगढ सडक खन्डमा आगामी चाडपर्व लक्षित गरी निर्वाध यातायातको व्यवस्था गरिने समेत घोषणा गरे ।