काठमाडौं । “पहिला दिन कर्मचारीहरुबाट ब्रिफिङ सुन्दा निकै डर लाग्यो, ५ दिन काम गरेपछि भने निकै उत्साहित भएको छु” स्वास्थ्यमन्त्री गगन थापाले भने ।

सुरुमा स्वास्थ्य मन्त्रालयका पदाधिकारीहरुबाट मन्त्रालयसँग सम्बन्धित कामबारे जानकारी लिँदा यस्तो जटिल विषय भएको मन्त्रालय सम्हाल्न पुगेछु जस्तो लागेको थापाले बताए । “अरु छनौट हुँदा पनि मैले केही काम गर्न नै स्वास्थ्य रोजेको थिएँ, शुरुमा डर लागेपनि अहिले भने केही गर्न सकिन्छ भन्ने विश्वास पलाएको छ।” उनले भने ।
अनियमितता गर्नेलाई नछाडिने
स्वास्थ्य मन्त्रालयमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री थापाले स्वास्थ्य क्षेत्रमा सुशासनको प्रत्याभूति गराउन कुनै कसर नराखिने बताए । आफूले अनियमितता नगर्ने र कसैले गरेको भेटेमा त्यसलाई पनि नछोड्ने उनको उद्घोष थियो । “बिग्रेको कुरा छ भने यहीँ भित्रैबाट सुधार्ने हो । स्वास्थ्यको टीमले अब चाहिँ सुधार्न सकिन्छ भन्ने विश्वास बोकेर मलाई सहयोग गर्दैछ । जनताले प्रत्यक्ष अनुभूति गर्ने केही काम पक्कै हुन्छ ।” उनको भनाई थियो ।
स्वास्थ्यक्षेत्रमा टुक्राटुक्री काम भन्दा पनि प्रणालीमा नै सुधार गर्ने आफ्नो प्राथमिकता भएको उनले स्पष्ट पारे । एकातिर तत्काल रेस्पोन्स गर्नुपर्ने कुराहरुमा ध्यान दिने तर मुख्य कुरा अनियमिततादेखि स्वास्थ्य सेवा प्रवाहलाई नै सुशासन र जनमुखी बनाउने दिशामा मेरो प्रयत्न हुने छ ।” उनले भने । स्थानीय स्वास्थ्य संस्थाहरुमा चिकित्सकको दरबन्दी र औषधी व्यवस्था सहज र सुचारु पार्न आफूले निर्देशन दिइसकेका बताउँदै थापाले एक दुई साताभित्रै यसविषयमा ठोस काम हुने दावी समेत गरे ।