काठमाडौं । कांग्रेसबाट थप १३ जना मन्त्रीले शुक्रबार शपथ लिएका छन् । शितल निवासमा भएको विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुलाई शपथ खुवाएकी हुन् ।
कांग्रेसका पुरुष मन्त्रीले दौरा सुरुवाल र ढाका टोपीमा तथा सीतादेवी यादवले सारी र चोलोमा शपथ लिएका हुन् ।

कांग्रेसबाट सीतादेवी यादवले शान्ति तथा पुनर्निर्माण, बालकृष्ण खाणले रक्षा, अर्जुननरसिंह केसीले सहरी विकास, डा. प्रकाशशरण महतले परराष्ट्र, सूर्यमान गुरुङले श्रम तथा रोजगार, जीवनबहादुर शाहीले पर्यटन, रोमी गौचन थकालीले वाणिज्य, हृदयराम थानीले सहकारी तथा गरिबी, दिपक गिरीले सिंचाई, गगनकुमार थापाले स्वास्थ्य, नविन्द्रराज जोशीले उद्योग, शंकर भण्डारीले वन र केशव कुमार बुढाथोकीले सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
कांग्रेसबाट यसअघि विमलेन्द्र निधि उपप्रधान तथा गृह र रमेश लेखक भौतिक पूर्वाधार तथा यातायात मन्त्री भइसकेका छन् ।