काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डमा साँचो बोल्ने नैतिक बल गुमिसकेको भन्दै प्रचण्डका कुराप्रति आफूले कुनै प्रतिक्रिया दिन नचाहने बताएका छन् ।
सत्य बोल्दा आफ्नै बदनाम हुने भएपछि प्रचण्डले भ्रम फैलाउन थालेको ओलीको आरोप छ । उपचारका लागि थाइल्याण्ड प्रस्थान गर्नुअघि विहीबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै ओलीले भने, ‘साँचो बोल्ने हिम्मत नभएका मान्छेका बारेमा कुनै प्रतिक्रिया दिनु छैन ।’
ओली नियमित स्वास्थ्य जाँचका लागि बैंकक गएका हुन् । उनले त्यहाँस्थित बुमरङगार्ड अस्पतालमा उपचार गराउनेछन् । त्यसपछि उनी चेङमईका नेपालीहरुको कार्यक्रममा सहभागी हुनेछन् । उनले यसबीचमा इण्डोनेशियामा आयोजित कार्यक्रमलाई पनि सम्बोधन गर्नेछन् ।
अध्यक्ष ओलीलाई बिदाइ गर्न विमानस्थलमा कार्यवाहक अध्यक्ष गौतम, महासचिव ईश्वर पोखरेल, सचिव प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, स्थायी कमिटी सदस्य किरण गुरुङ लगायत नेताहरु पुगेका थिए ।
नेकपा एमालेमा कार्यवाहक अध्यक्षको जिम्मेवारी बरिष्ठ उपाध्यक्ष वामदेव गौतमले पाएका छन् । स्वास्थ्य उपचारका सिलसिलामा करीव दुई साताका लागि विदेश भ्रमणमा निस्किएका अध्यक्ष ओलीले वामदेवलाई कार्यवाहक अध्यक्षको जिम्मा दिएका हुन् ।
महासचिव ईश्वर पोखरेलले विहीबारै गौतमलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकिएको पत्र हस्तान्तरण गरेको कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।