काठमाडौं । नेकपा एमालेले संविधान कार्यान्वयनलाई धरापमा पारेर नयाँ सरकारले देशलाई अनिश्चय, अस्थिरता र संवैधानिक रिक्ततातर्फ लैजाने प्रयास गरिरहेको आरोप लगाएको छ ।
मंगलबार सकिएको स्थायी कमिटि बैठकको निर्णय सार्वजनिक गर्दै एमालेले देशमा राजनीतिक तथा सामाजिक द्वन्द्व निम्त्याउने खेल सुरु भएको आरोप पनि लगाएको छ ।
एमालेले वर्तमान सरकारले छिमेकी देशसँग कायम भएको सन्तुलित सम्बन्धलाई पुनः असन्तुलित बनाउने तथा नेपाली आफैँले केही गर्न सक्दैनन् भन्ने छाप पारेर नेपालीको शिर निहुरिने क्रियाकलापको दृढतापूर्वक विरोध गर्ने जनाएको छ ।
वर्तमान सरकारले विगतमा सहमतिका आधारमा तय भएका नीतिहरू बदल्ने, निर्णयहरू उल्ट्याउने र नियुक्तिहरू बदर गर्ने गैरकानुनी कामहरू सुरु गरेको भन्दै एमालेको बैठकले राजनीतिक पूर्वाग्रहका आधारमा त्यस्ता निर्णय नगर्न सचेत गराएको छ ।
बैठकले वर्तमान सरकारले स्थानीय तहको निर्वाचन नगर्ने उद्देश्यसहित पूर्वनिर्धारित मिति सारेको उल्लेख गर्दै अविलम्ब स्थानीय, प्रादेशिक र केन्द्रीय निर्वाचनमा जान माग गरेको एमालेले आज निकालेको विज्ञप्तिमा उल्लेख छ । साथै बैठकले स्थानीय तह पुनर्संरचना आयोगलाई तोकिएको मापदण्ड एवम् कार्य सर्त अनुसार छिटोभन्दा छिटो काम सम्पन्न गरी प्रतिवेदन प्रस्तुत गर्न आग्रह गरेको छ ।