काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज चौथोपटक मन्त्रिपरिषद विस्तार गर्दै छन् ।।
सत्ताको प्रमुख घटक नेपाली कांग्रेसले मन्त्रीहरुको नाम सिफारिस गरेपछि आज मन्त्रिपरिषदको विस्तार हुनेछ । तर मन्त्रिपरिषदको विस्तारको समय भने तय भइसकेको छैन ।
नेपाली कांग्रेसले आजै ११ जनाको मन्त्री नाम सिफारिस गर्ने जानकारी गराएको र त्यसको टुङ्गो लाग्ने वित्तिकै प्रधानमन्त्री कार्यालयबाट राष्ट्रपति कार्यालयमा पत्र जाने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सभापति शेरबहादुर देउवाले केही नेताहरुसँग छलफल गरेर नामलाई अन्तिम रुप दिनेछन् ।
११ जनाको नाम लगभग तय भएको तर त्यसमा थप छलफल पछि दिउँसोसम्म सिफारिस हुने कांग्रेस नेता डा. प्रकाशशरण महतले जानकारी दिए । माओवादी केन्द्रसँगको सत्ता समीकरणमा कांग्रेसको पक्षमा १३ मन्त्रालय रहने सहमति भएको थियो ।
कांग्रेसको भागमा गृह, रक्षा, परराष्ट्र, शिक्षा, स्वास्थ्य भौतिक, शहरी विकास लगायतका १३ मन्त्रालय परेको छ । मन्त्रीको छनौटमा असन्तुष्टि जनाउँदै बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बिहान छुट्टै भेलासमेत बोलाएको छ । ४० प्रतिशत मन्त्रालय आफ्नो समूहलाई दिनुपर्ने पौडेलको मागमा देउवा सकारात्मक छैनन् ।
यसैबीच साना दलकातर्फबाट प्रेमबहादुर सिंहले मन्त्रीका रुपमा सपथ लिने तय भइसकेको छ ।