काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सरकार विरुद्धको तयारीमा जुटेको छ । उसले सरकारविरुद्ध मोर्चाबन्दी गर्ने तयारी गरेको छ ।
एमाले नेताहरुले मंगलबार विपक्षी दलहरुको बैठक बोलाएर कार्यगत एकता गरेर अघि बढ्नेबारे छलफल पनि गरेका छन् । सिंहदरबारमा भएको छलफलमा एमाले, राप्रपा सहितका सात दलका नेताहरुको सहभागिता थियो ।
बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान कार्यान्वयन हुन नदिने परिस्थिति आउन सक्ने भन्दै देशलाई जोगाउन एकतावद्ध हुनुपर्ने बताए ।
संविधान कार्यान्वयनका लागि अघिल्लो सरकारले ल्याएको कार्ययोजनालाई नयाँ सरकारले बेवास्ता गरेको विपक्षी दलहरुको आरोप छ । विपक्षी दलहरुको बैठकमा सरकारले गर्ने भनिएको संविधान संंशोधनबारे पनि छलफल भएको छ । बैठकमा सहभागी नेताहरुले मधेसमा खासै समस्या नभएको भन्दै कसैका लागि संविधान संशोधनमा सहभागी हुन नसकिने बताए ।