काठमाडौं । उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महराले आफ्नो चीन भ्रमण फलदायी र सकारात्मक भएको जानकारी दिएका छन् ।
मन्त्रीपरिषद्को निर्णयअनुसार नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विशेषदूत बनेर चीन गएका महराले शनिबार स्वदेश फर्किनेक्रममा यस्तो बताएका हुन् ।
‘मेरो चीन भ्रमण निकै फलदायी र उत्साहपूर्ण रह्यो,’ स्वदेश फर्किएपछि
सञ्चारकर्मीसँग महराले भने, ‘चिनियाँ राष्ट्रपतिको आसन्न नेपाल भ्रमणबारे पनि सकारात्मक सन्देश पाएका छौँ ।’
साथै उनले चीन भ्रमणका क्रममा भएका राजनीतिक र उच्चस्तरीय भेटवार्तामा निकै सौहार्दपूर्ण र सकारात्मक कुरा भएको जानकारी दिँदै दुई देशका परराष्ट्रमन्त्री नियमित सम्पर्कमा रहने समझदारी बनेको जानकारी दिए ।
चिनियाँ राष्ट्रपतिको भ्रमणको मितिबारे सञ्चारकर्मीले राखेको जिज्ञासामा महराले मिति तय भइनसकेको जानकारी दिए । चिनियाँ उच्च नेताहरुको छलफलपछि मात्र मिति तय हुने उनले बताए ।