काठमाण्डौ ।
नेविसंघको महाधिवेशनलाई बहाना बनाएर सरकारमा मन्त्री पठाउन ढिलाइ गरिरहेको नेपाली काँग्रेसले आइतवारसम्ममा सरकारमा मन्त्री पठाउने भएको छ ।
काँग्रेस सभापति शेरबहादुर देउवाले आइतवारसम्ममा मन्त्रीहरूको नाम पठाइसक्ने र सोमवारसम्ममा मन्त्रिमण्डल विस्तार हुने काँग्रेस स्रोतले बतायो ।
काँग्रेस केन्द्रीय सदस्य बहादुरसिंह लामाले एकदुई दिनमै पार्टीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम पठाइने लोकान्तरलाई जानकारी दिए । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले धेरै मन्त्रालयमा दाबी गरेका कारण काँग्रेसले मन्त्री छान्न ढिलाइ गरिरहेको छ ।
को को बन्दैछन् मन्त्री ?
नेपाली काँग्रेसको तर्फबाट बालकृष्ण खाँड, गगन थापा, जीवनबहादुर शाही, मोहन बस्नेत, बहादुरसिंह लामा, रामहरि खतिवडा, अर्जुनप्रसाद जोशी लगायत मन्त्री बन्ने सम्भावना रहेको काँग्रेसका एक प्रभावशाली सांसदले बताए ।
यसैगरी शेखर कोइराला, सीतादेवी यादव, नवीन्द्रराज जोशी, कमला पन्त, रामकृष्ण यादव लगायत मन्त्री बन्ने सम्भावना छ । यसअघि विमलेन्द्र निधि र रमेश लेखक सरकारमा सहभागी भइरसकेका छन् ।
मन्त्रिपरिषद्ले पूर्णता नपाउँदा सरकारका काम कारबाही प्रभावित भएका छन् । काँग्रेसले नाम नपठाउँदा सरकार गठन भएको १५ दिन पुगिसक्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन ।