काठमाडौं । नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको अध्यक्षमा सभापति शेरबहादुर देउवा पक्षधर नैनसिंह महर विजयी भएका छन् ।
वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर मनोजमणि आचार्यलाई १ सय २१ मतले मतले पराजित गर्दै महर नेविसंघको सभापतिमा निर्वाचित भएका हुन् ।
काँग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीवार दिउँसो सकिएको मतगणनामा महरले १ हजार ४ सय ९६ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी आचार्यले १ हजार ३ सय ६२ मत प्राप्त गरेका थिए । महामन्त्रीमा पनि महर प्यानलका कृष्णप्रसाद सिटौला पक्षधर कुन्दन काफ्ले र महर प्यानलका सरोज थापा निर्वाचित भएका छन् ।
निर्वाचनको मतपरिणामको औपचारिक घोषणा गरिएको छैन । गएको साउन २४ देखि राजधानीमा शुरु महाधिवेशमा नयाँ नेतृत्वका लागि सातजना चुनावी प्रतिस्पर्धामा थिए । काग्रेसको आन्तरिक विवादका कारण नेविसंघका महाधिवेशन लामो समयदेखि हुनसकेको थिएन ।