काठमाण्डौ ।
प्रधानन्यायाधीश सुशीला कार्कीले कानुन व्यवसायीहरूमाथि निष्ठा छोडेर सम्पतिका लागि मरिहत्ते गर्ने प्रवृत्ति मौलाएको आरोप लगाउँदै त्यसका कारण वकालत पेशा नै बदनाम भएको बताएकी छिन्।
नेपाल कानुन व्यवसायी परिषदले बिहीबार काठमाडौंमा गरेको कार्यक्रममा प्रधानन्यायाधीश कार्कीले कतिपय कानुन व्यवसायीहरूले जसको मुद्दा लडेको हो उसलाई खरानी बनाएर सबै सम्पत्ति लिने गरेको भन्दै त्यसो गर्नु निष्ठामाथिको बिचलन भएको बताइन्। उनले मुद्दा लडेको व्यक्तिलाई सक्षम बनाउनुको साटो उसको सबै सम्पत्ति हडप्ने प्रवृत्तिले कानुन व्यवसायीलाई शोषक र सामन्तीजस्तो बनाउने बताइन्।
प्रधानन्यायाधीश कार्कीले कतिपय कानुन व्यवसायीहरूले कालो कोट लगाएर जग्गा दलालहरूसँग मिलेमतो गरी अनाधिकृत रुपमा खर्बौं रुपैयाँ आर्जन गरेको भन्दै त्यस्ता व्यवसायीलाई आफूले सर्वोच्च अदालतमा प्रवेश गर्न नदिन निर्देशन दिएको बताइन्। उनले कानून व्यवसायीहरुमाथि पेशागत मर्यादा विपरीत सम्पत्तिका लागि जस्तोसुकै काम गर्न हर्कत गर्न तयार हुने प्रवृत्ति मौलाएको आरोप लगाउने क्रममा नेपाल बार एशोसियशनमाथि पनि असन्तुष्टि पोखिन्।
उनले बारले अदालतलाई बलियो बनाउनतिर ध्यान दिनुको साटो राजनीति गरेको आरोप लगाइन्। उनले खासगरी संसदीय सुनुवाइ र ११ जना न्यायाधीशको नियुक्तितर्फ संकेत गर्दै बारमाथि राजनीति गरेको आरोप लगाइन्।
कार्कीले विश्वका धेरै मुलुकमा समावेशी सिद्धान्त अनुसार न्यायाधीशहरू नियुक्त गरिएका उदाहरण रहेको भन्दै आफूले जिल्ला र पुनरावेदन अदालतमा न्यायाधीश नियुक्तिका क्रममा महिलाहरूको प्रतिनिधित्वलाई जोड दिने बताइन्।