काठमाडौं । सरकारको नेतृत्वकर्ता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको दल नेकपा माओवादी केन्द्रले पार्टीका तर्फबाट सरकारमा पठाउने पाँच मन्त्रीको टुंगो लगाएको छ ।

माओवादीको भागमा परेका आठ मन्त्रालयमध्ये बाँकी पाँच जनाको नाममा मोटामोटी सहमति भएको माओवादी उच्च स्रोतको दाबी छ ।
अर्थमन्त्रालयमा दाबी गरेका जनार्दन शर्मा प्रभाकरलाई ऊर्जा, परराष्ट्र मन्त्रालयको दाबी गरेका राम कार्कीलाई सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा पठाउने सहमति भएको छ ।
सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रीमा हितराज पाण्डे तथा यसअघि पनि कानुनमन्त्री बनेका प्रभु साहलाई कानुन मन्त्रालयमै ल्याउने सहमति भएको छ । नारायणकाजी श्रेष्ठ समूहका डीआर पौडेललाई शिक्षा मन्त्री बनाइने भएको छ ।
अर्को मन्त्रालय पाएमा महिलाको तर्फबाट सीता नेपाली वा अनिता परियारलाइ मन्त्री बनाइने माओवादी स्रोतले बतायो । माओवादीका तर्फबाट कृष्णबहादुर महरा अर्थ, गौरीशंकर चौधरी कृषि र दलजीत श्रीपाइली खेलकुद मन्त्री बनिसकेका छन् । माओवादीले केही मधेसी, जनजाति, दलित र महिला सांसदलाई राज्यमन्त्री बनाउने पनि तयारी गरेको छ ।
काँग्रेसले मन्त्रीको नाम दिएमा बुधवारसम्म तेस्रो पटक मन्त्रीमण्डल विस्तार गर्ने प्रधानमन्त्री प्रचण्डको तयारी छ ।