काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो कार्यकाललाई प्रभावकारी बनाउन अपवाद बाहेक उद्घाटन कार्यक्रम र रिबन काट्ने काममा नअल्झने घोषणा गरेका छन् । ![]()
शनिबार दिउँसो बनस्थलीमा आयोजित गोरखा–काठमाडौं जनसम्पर्क मञ्चको एकताको पाँचौं भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त घोषणा गरेका हुन् ।
प्रधानमन्त्रीले भने, ‘परिणाममूखी काम हुनुपर्छ भन्नेमा छु । यो कार्यक्रम प्रधानमन्त्री हुनुपूर्व नै तय भएकाले म आएँ, अब अपवाद बाहेक उद्घाटन कार्यक्रम र रिबन काट्ने काममा अल्झने छैन ।’
भेलामा प्रधानमन्त्रीले १० माओवादीको एकतापछि नेकपा माओवादी केन्द्र ठूलो दल बनेको बताए । ‘संसदमा हामी अहिले पनि तेस्रो दलकै रुपमा उपस्थित छौं ।
तर, १० माओवादीको एकतापछि हामी ठूलो दल बनेका छौं । एकतालाई जनतासम्म पुर्याएर जनआकांक्षा पुरा गर्नतिर लाग्नु अवको प्राथमिकता हो, ‘प्रधानमन्त्रीले भने ।
संविधानको परिमार्जन सहित कार्यान्वयन, भूकम्पको पूनर्निर्माण र राहत, आर्थिक समृद्धि र जनआकांक्षाको परिपूर्ति सरकारको मूख्य कार्यभार रहेको भन्दै प्रधामन्त्रीले चुनौतिका बीच होसियारीपूर्वक परिणाम निकाल्ने बताए ।