काठमाडौं ।
नवगठित मन्त्रीपरिषद बैठकले पूर्ववर्ती सरकारले विभिन्न १४ देशका लागि गरेको राजदूत सिफारिस बदर गर्ने निर्णय गरेको छ । नेपाल सरकार, मन्त्रीपरिषदको शुक्रवार बसेको बैठकले केपी ओली नेतृत्वको सरकारले गरेका राजदूतको नाम फिर्ता गर्ने निर्णय गरेको हो ।
सरकारले परराष्ट्र सेवाका आठ र राजनीतिक पृष्ठभूमि भएका परराष्ट्र सेवा बाहिरका १४ गरी २२ जनाको नाम राजदूतको लागि प्रस्ताव गरेको थियो। जसमध्ये महेन्द्रबहादुर पाण्डे, खड्गबहादुर केसी, नारद भारद्वाज (वाग्ले), शिवमाया तुम्बाहाम्फे र अलि अख्तर मिकरानीको संसदीय सुनुवाई आजै गर्ने कार्यतालिका थियो। मंगलबारदेखि सिफारिश राजदूतहरुको सुनुवाइ हुँदै अाएको अवस्थामा शुक्रबार सरकारले यस्तो निर्णय गरेको हो। करिअर डिप्लोम्याटका हकमा भने सरकारले अाेली सरकारको निर्णय उल्टाएको छैन। करिअर डिप्लोम्याटको रुपमा राजदूतमा सिफारिस भएका दुर्गाबहादुर सुवेदी, रमेश खनाल, झविन्द्र अर्याल, लोकबहादुर थापा, प्रकाश सुवेदी, सेवा लम्साल अधिकारी, ताराप्रसाद पोखरेल र ऋषि घिमिरे छन्।
पूर्ववर्ती सरकारले चीन, जापान, रुस, अस्ट्रेलिया लगायतका देशका लागि राजदूत सिफारिस गरेको थियो । प्रस्तावित राजदूतहरूको शुक्रवार देखी संसदीय सुनुवाइ गर्ने कार्यक्रम समेत थियो । परराष्ट्र सेवाका ७ जनाको सुनुवाइ भने सम्पन्न भइसकेको छ ।