काठमाण्डौँ । नेकपा (माओवादी केन्द्र)का नेता एवम् सांसद पुष्पकमल दाहाल मुलुकको ३९ औँ प्रधानमन्त्री निर्वाचित भएका छन् । व्यवस्थापिका–संसद्मा आज भएको प्रधानमन्त्री पदको निर्वाचनमा ३६३ मत प्राप्त गरेर उहाँ मुलुकको कार्यकारी प्रमुखमा निर्वाचित भएका हुन् ।
यसअघि २०६५ सालमा पनि प्रचण्ड प्रधानमन्त्री बनेका थिए ।गणतान्त्रिक नेपालमा दुईपटक प्रधानमन्त्री बन्ने प्रचण्ड पहिलो कम्युनिष्ट नेतासमेत बनेका छन् ।कांग्रेस सभापति शेरबहादुर देउवाले प्रचण्डलाई प्रधानमन्त्रीमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए ।
सो प्रस्तावको पक्षमा ३६३ र विपक्षमा २१० मत खसेको छ । संसद बैठकमा जम्मा ५७३ सांसद उपस्थित थिए ।
यसअघि बैठकमा नेपालको संविधानको धारा २९८ को उपधारा (३) एवम् व्यवस्थापिका–संसद् नियमावली, २०७३ को ४९ उपनियम (४) बमोजिम नेपालको प्रधानमन्त्री पदमा उहाँले आफ्नो उम्मेदवारीको सूचना प्रस्तुत गर्नुभएको थियो । संसद्को अर्को बैठक साउन २४ गते सोमबार ११ बजे बस्ने छ ।