काठमाडौं – नयाँ प्रधानमन्त्रीका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको मात्र उम्मेद्वारी परेको छ । मंगलबार बिहान ११ बजेर २६ मिनेट जाँदा कांग्रेस र माओवादी केन्द्रको गठबन्धनका तर्फबाट प्रधानमन्त्रीमा दाहालले उम्मेद्वारी दर्ता गर्नुभएको हो ।
दाहालको प्रस्तावकमा कांग्रेसका शेरबहादुर देउवा हुनुहुन्छ भने समर्थकमा माओवादी केन्द्रका कृष्णबहादुर महरा, तथा संघीय समाजवादी फोरम नेपालका उपेन्द्र यादव, तमलोपाका सर्वेन्द्रनाथ शुक्ला, सद्भावना पार्टीका लक्ष्मणलाल कर्ण तथा साना दलका तर्फबाट जयदेव जोशी, कुमार खड्का, चन्द्रेश्वर झालगायतको समर्थन छ । उम्मेद्वारी दर्ता गर्ने समय दिउँसो ४ बजेसम्म मात्रै थियो ।
यसैअघि मंगलबार बिहान बसेको नेकपा एमालेकोे स्थायी कमिटी बैठकले आफ्नो पार्टीका तर्फबाट कसैलाई पनि उम्मेदवार नबनाउने निर्णय गरेको थियो । बैठकले एमाले प्रतिपक्षीमा बस्ने निर्णय गर्दै प्रधानमन्त्रीको चुनावमा विपक्षमा मतदान गर्ने निर्णय पनि गरेको छ । नयाँ प्रधानमन्त्री चयनका लागि बुधबार बिहान संसदमा मतदान हुँदैछ ।
संसदमा कांग्रेसको २ सय ७ र माओवादीको ८० सिट छ । गठबन्धनलाई मधेसी मोर्चाले पनि समर्थन गर्ने जनाइसकेकाले प्रचण्डको पक्षमा बहुमत सहज देखिन्छ ।