काठमाडौं । नक्कली सहयोगी बनाएर स्पेनमा मानव तस्करी गरेको आरोप लागेका नेकपा माओवादी केन्द्रका आठ जना सांसदमाथि पार्टीले छानबिन गर्ने भएको छ ।
स्पेन भ्रमणका क्रममा सहयोगी भन्दै अरु व्यक्तिलाई नै लगेर छाडेको भन्दै प्रहरीले अनुसन्धान थालेपछि माओवादीले पनि छानबिनका लागि समिति गठन गरेको हो ।
बुधबार बसेको पोलिटब्युरो बैठकले अमिक शेरचनको संयोजकत्वमा कृष्णबहादुर महरा र प्रवक्ता पम्फा भूसाल रहेको तीन सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ ।
माओवादीका सांसदहरु गोमा कुँवर, सिर्जना तमारु खत्री, डोरप्रसाद उपाध्याय, सन्तकुमार थारू, रूपा महर्जन श्रेष्ठ, राममाया बोगटी, दिलमाया धामी र धना पहरीमाथि प्रहरीले अनुसन्धान थालेको छ ।
यस्तै बुधबारको पोलिटब्युरो बैठकमा संगठनात्मक र निर्वाचन विधिबारे कार्यदलको प्रस्तुत गरेको प्रस्तावमाथि छलफल भएको माओवादीले जनाएको छ । बैठक बिहीबार जारी रहनेछ ।