काठमाण्डाैं । राष्ट्रिय सभा निर्वाचनको सम्पूर्ण परिणाम सार्वजनिक भएको छ । राष्ट्रिय सभाका ५६ सदस्यका लागि हिजो भएको निर्बाचनको सम्पूर्ण परिणाम आज सार्बजनिक भएको हो ।
सो निर्वाचनमा पनि नेकपा एमालेले २७ सिट जितेर पहिलो दल बन्न सफल भएको छ । त्यसैगरी नेपाली काँग्रेसले १३, नेकपा माओवादी केन्द्र १२, संघीय समाजवादी फोरम, नेपाल २ र राष्ट्रिय जनता पार्टी, नेपाल २ स्थानमा विजयी भएका छन ।
अब निर्वाचन आयोगले ७ दिन भित्र राष्ट्रिय सभाको सम्पूर्ण निर्वाचन परिणाम राष्ट्रपति समक्ष पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।
आयोगका प्रबक्ता नबराज ढकालले प्रतिनिधि सभा समानुपातिकतर्फको मत परिणाम सार्वजनिक गरेर फागुन ५ गतेभित्र राष्ट्रपति समक्ष पेश गर्नेगरी काम भईरहेको जानकारी दिनु भयो ।
आयोगले भोली दलहरुलाई उनीहरुले प्राप्त गरेको सिट संख्याबारे पत्राचार गर्ने तयारी गरेको छ ।
पत्रचार गरिएको सिट संख्या अनुसार दलहरुले बन्द सूचिमा पेश भएका नामावली अनुसारको सूचि पेश गरेपछि प्राप्त नामावलीको आधारमा प्रतिनिधिसभा समानुपातिकतर्फको निर्वाचन परिणाम सार्वजनिक हुनेछ ।
दलहरुले अन्तिम नामावली पठाउँदा गल्ती भए सच्याउन २ दिनको समय दिइने प्रवक्ता ढकालले जानकारी दिनु भयो ।
निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण परिणाम राष्ट्रपति समक्ष पेश गरेलगत्तै नयाँ सरकार गठन प्रक्रिया सुरु हुनेछ ।