काठमाण्डौं । कृषि विकास मन्त्री हरिबोल गजुरेलले हलो जोतेर खेती गर्न नचाहने युवालाई ट्रयाकटर ड्राइभर बनाएर भएपनि कृषिमा आकर्षित गराउने बताएका छन् ।
कृषि विभागमा भएको प्रथम युवा कृषि उद्यम सम्मेलनमा मन्त्री गजुरेलले भने, ‘गोरु जोते हली हुन्छ, ट्रयाक्टर चलाए ड्राइभर साहेव वा गुरुजी, गुरु जी बन्न हाम्रा युवा तयार छन् तर हली बन्न तयार छैनन् बरु उतै भेडा चराएर बस्छन, यहाँ हली बन्दैनन् । त्यसैले कृषिलाई यान्त्रीकरण गरी युवालाई कृषिमा आकर्षित गराउन खोजेका हौं ।’
स्वदेशमै केही गर्ने वातावरण भएमा विदेश पलायन भएका युवा पनि नेपालमै फर्किने दाबी गर्दै मन्त्री गजुरेलले भने, ‘युवाहरु अहिलेकै अवस्थामा हामीले फर्क भनेर फर्किने पक्षमा छैनन्, हामीले जा भनेर गएका पनि होइन, जब यहाँ वातावरण बन्छ तिमीहरु उतै बस भन्दा पनि आउनेछन् ।’
सरकारले पकेटक्षेत्र सम्बन्धी अवधारणा ल्याइसकेको र अहिले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको नामाकरण गरी ५ अर्ब ८७ करोड रुपैयाँ विनियोजन गरिएको मन्त्री गजुरेलले जानकारी दिए ।
मंगलबारसम्म चल्ने युवा कृषि उद्यम सम्मेलनमा देशभरबाट १ सय ५० जना युवा कृषक तथा उद्यमीको सहभागिता रहेको आयोजक फोर एच नेपालले जनाएको छ ।