पाेखरा । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेकपा माओवादी केन्द्र सरकारबाट बहिरिएपछि मात्रै नयाँ सरकारका बारेमा छलफल हुने बताएका छन्। प्रेस युनियन कास्कीले आइतबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा सिटौलाले सरकार परिवर्तनका लागि नेकपा माओवादी केन्द्रले निर्णय गरेलगत्तै कांग्रेसले निर्णय गर्ने बताए।
उनले कांग्रेसले माओवादीको निर्णय कुरेर बसेको बताए। यद्यपि, उनले बहुमतीयभन्दा सहमतीय सरकार नै अहिलेको आवश्यकता रहेको बताए। दलहरूबीच विश्वासको दुरी बढेको बताउँदै उनले भने, ‘तीन वटा निर्वाचन सम्पन्न गर्न, भुकम्प पुनर्निर्माण गर्न र साझा आर्थिक नीति बनाउन पनि सहमतीय सरकार आवश्यक छ।’ प्रधानमन्त्रीको को बन्ने र सरकार कसको नेतृत्वमा बनाउने भन्ने विषयमा चर्चा गर्नुअघि राष्ट्रिय एजेण्डामा प्रमुख दलहरूबीच सहमति हुनुपर्नेमा उनको जोड थियो।
नेता सिटौलाले स्थानीय निकायको चुनाव मंसिरमा हुने नसक्ने बताउँदै माघ/फागुनमा मात्र सम्भव हुने बताए। चुनावी कानुन नै नबनेको अवस्थामा चुनावको कार्यविधि नबन्ने भएकाले मंसिरमा चुनाव असम्भव भएको सिटौलाले बताए। उनले भूकम्प पुनर्निर्माण, आर्थिक समृद्धि र मुलुकको विकास सबैमा असफल बनेर सरकार जनतामाझ रमिता बनेको टिप्पणी गरे।
Facebook Comments Box