काठमाण्डौं । राप्रपा नेपालका अध्यक्ष कमल थापालाई तह लगाउने भन्दै पार्टीबाट विद्रोह गरेर बनेको राप्रपा नेपाल समानान्तर विभाजित भएको छ ।
बिहीवार बसेको समानान्तरको केन्द्रीय कार्यसमितिको बहुमतले कार्यवाहक अध्यक्ष गणेश शेरचनलाई हटाएसँगै पार्टी फुटेको हो ।
पार्टीलाई सही नेतृत्व दिन नसकेको र समान विचारधारा भएका राजनीतिक दल एवं शक्तिसँग एकता गर्ने पार्टी स्थापनाकालदेखिको नीति विपरीत एकीकरण प्रयासमा बाधा गरेका कारण शेरचनलाई पदमुक्त गरिएको राप्रपा नेपाल समानान्तरका नेता सगुन लावतीले बताए ।
उपाध्यक्ष सत्यमान लामाको अध्यक्षतामा सम्पन्न बैठकले राष्ट्रिय प्रजातन्त्र पार्टीसँगको एकता वार्तालाई सकारात्मक निष्कर्षमा पु-याउने प्रतिबद्धता गरेको उनले बताए ।
उक्त निर्णयमा केन्द्रीय कार्य समितिको नब्बे प्रतिशत सदस्यहरूको समर्थन रहेको जनाइएको छ । पछिल्लो निर्णयबमोजिम पार्टी नेतृत्वको जिम्मेवारी उपाध्यक्ष लामामा आएको छ ।
संवर्द्धनवादी, पारम्परिक राष्ट्रवादी शक्तिहरूको एकताका लागि प्रयत्नशील रहेको सन्दर्भमा बृहत् राप्रपा एकता अभियानमा सरिक रहँदै जाने निर्णय समेत गरिएको छ । यसैबीच शेरचन समूहले भने निर्णय औचित्यहीन भएको भन्दै पार्टी सुदृढीकरणमा आफूहरु लागिपर्ने बताएको छ ।
दुई वर्षअघि कमल थापाको हुकुमी शैलीको विरोध गर्दै समानान्तर पार्टी गठन भएको थियो ।