
काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा एमाले र माओवादीले ४३ सिटमा साझा उम्मेदवार उठाउने समझदारी गरेका छन् । एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको वाम गठबन्धन कार्यदल बैठकले ४३ सिटको भागबन्डा टुंगो लगाउँदै साझा उम्मेदवारी दिने निर्णय गरेको हो । यसको अन्तिम छिनोफानो भने शीर्ष नेताहरूले लगाउनेछन् ।
सातवटै प्रदेशमा दुवै दलले प्रदेश सभा र स्थानीय तहमा जितेको सिटसंख्या र मतपरिणामलाई मुख्य आधार मानेर सिट बाँडफाँडको निर्णय भएको एमाले नेता सुरेन्द्र पाण्डेले बताए । कार्यदलले सिट बाँडफाँडका लागि निर्वाचनमा प्राप्त परिणाम, पार्टी एकताको स्पिरिट, सम्भावित उम्मेदवारको व्यक्तित्व र कार्यक्षमता तथा सन्तुलन र समावेशितासहित चारवटा मापदण्ड बनाएको थियो । २४ माघका लागि घोषित राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन आयोगले १० माघमा उम्मेदवारी दर्ताको कार्यतालिका सार्वजनिक गरिसकेको छ ।