नेपालगञ्ज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई फेरि प्रधानमन्त्री बन्ने रहर नभएको बताउनुभएको छ ।
उहाँले राष्ट्रिय सहमतिको सरकारको कसले गर्ने भन्नु कुरा सहमतिमै तय हुने बताउनुभयो । बिहीबार नेपालगञ्जमा गएको वर्षको भूकम्पमा परी निधन भएका संविधानसभाका पूर्व उपाध्यक्ष पुर्णाकुमारी सुवेदीका छोरा अच्युत सुवेदीको प्रथम वार्षिकी तथा पुस्तक विमोचन कार्यक्रममा अध्यक्ष प्रचण्डले आफूले प्रधानमन्त्री बन्नका लागि राष्ट्रिय सहमतिको सरकारको कुरा नगरेको दाबी गर्नुभयो ।
उहाँले राष्ट्रिय सहमतिको सरकारको नेतृत्वका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नाममा सहमति भएपनि आफ्नो पार्टीलाई मान्य हुने बताउनुभयो । प्रचण्डले राष्ट्रिय सहमतिको सरकारको नेतृत्वमा आफ्नो नाममा सहमति भएको खण्डमा जिम्मेवारी लिन तयार रहेको बताउनुभयो ।
संविधान कार्यान्वयन र भूकम्पपछिको पुनर्निर्माणका लागि प्रमुख दलहरुबिच बृहद राष्ट्रिय सहमतिको आवश्यकता भएका कारण आफूले राष्ट्रिय सहमतिको सरकार गठनका लागि पहल गरेको प्रचण्डको भनाई छ ।
राष्ट्रिय सहमतिको सरकार गठनका लागि पहल गर्दा आफूलाई प्रधानमन्त्री बन्न हतारिएको भनेर गलत प्रचार भइरहेको उहाँले टिप्पणी गर्नुभयो ।