
काठमाण्डाैं । एमाले र माओवादी केन्द्रद्धारा गठित कार्यदलले ३ दिन भित्र राष्ट्रिय सभा निर्वाचनको सिट बाँडफाँडलाई टुंग्याउने तयारी गरेको छ ।
राष्ट्रिय सभा निर्वाचनको सिट बाँडफाँड र प्रदेश सरकार गठनका विषयमा गृहकार्य गर्न गठित दुई दलीय कार्यदलको आईतबार बसेको बैठकले बुधबारसम्म राष्ट्रिय सभाको निर्वाचनको सिट बाँडफाँडलाई टुंगोमा पुर्याउने गरी छलफललाई अघि बढाएको हो ।
एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा दुई वटै दलका नेताहरुले निर्वाचनमा प्राप्त मतलाई आधार बनाएर आफ्ना प्रस्ताव पेश गरेका थिए ।
राष्ट्रिय सभा निर्वाचनको सिट बाँडफाँड दुवै दलका अध्यक्षहरुसँग परामर्श गरी बुधबार टुंग्याउने गरी छलफल अघि बढाइएको कार्य दलको संयोजन गरिरहनु भएका एमाले नेता सुवाष नेम्वाङले जानकारी दिनु भयो ।
बैककमा स्वास्थ्य उपचारका लागि जानु भएका एमाले अध्यक्ष ओली मंगलबार स्वदेश फर्कने कार्यक्रम छ । कार्यदलले एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग परामर्श गरेर मात्रै राष्ट्रिय सभा निर्वाचनको सिंट बाँडफाँडलाई टुंगोमा पु¥याउने योजना बनाएको हो ।
माओवादी केन्द्रका नेता वर्षमान पुनले पनि राष्ट्रिय सभा निर्वाचनको सिट बाँडफाँड बुधबारसम्म टुंगोमा पु¥याउने सहमति गरिएको स्पष्ट पार्नु भयो । उहाँले प्रदेश सरकार गठनका लागि आवश्यक छलफल भईरहेको पनि जानकारी दिनु भयो ।
बाम गठबन्धनमा आवद्ध दुई दलले राष्ट्रिय सभाको निर्वाचनको सिट बाँडफाँड र प्रदेश सरकार गठनका लागि गृहकार्य गर्न एमाले नेता नेम्वाङ र माओवादी केन्द्रका नेता रामबहादुर थापा रहनु भएको ६ सदस्यीय कार्यदल गठन गरेका छन ।
कार्य दललाई निर्वाचनको मत परिणामलाई मुख्य आधार बनाएर राष्ट्रिय सभा निर्वाचनको सिट बाँडफाँड र प्रदेश सरकार गठनका विषयमा सहमति जुटाउने कार्यदेश दिइएको छ ।