काठमाण्डौं । ललितपुरमा भएको एक कार्यक्रमका प्रमुख अतिथि रहेका कृषि मन्त्री हरिबोल प्रसाद गजुरेलको भाषण सुन्न सबैजना आतुर थिए । राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार वितरण कार्यक्रममा मन्त्री गजुरेलले केहीबेर त मौखिक भाषण गर्नुभयो । तर उत्कृष्ट भएका किसानले दिएका सुझाव सम्बोधन गर्ने क्रममा भने उहाँलाई निकै गाह्रो भयो ।
उत्कृष्ट किसानले अनुभव सुनाउने क्रममा सरकारलाई दिएका सुझाव मन्त्री गजुरेलले सानो डायरीमा टिपेर कोटको भित्री खल्तीमा हाल्नुभएको थियो । तर मञ्चमा पुगेपछि उहाँले कोटको बाहिरी खल्ती र भित्री खल्तीमा छामछुम पार्नुभयो । डायरी कतै पनि भेटिएन ।
धेरैबेर छामछुम गर्दा पनि डायरी नभेटेपछि हलमा कानेखुशी हुन थाल्यो । मन्त्री गजुरेलको अनुहार रातापिरो हुँदै गयो । केहीबेरपछि कार्यक्रम सञ्चालकले मन्त्रीका खल्ती छामे, अनि भने, ‘मन्त्रीज्यू, डायरी त यहिँ छ त ।’
खासमा कृषि विकास मन्त्री गजुरेलले लगाएको कोटको भित्री खल्तीमा प्वाल परेको रहेछ । प्वालबाट डायरी कोटको पुछारमा पुगेको रहेछ । मन्त्रीले बल्लबल्ल डायरी फेला पार्नुभयो । भाषण गर्दै गरेका मन्त्रीले वास्तविकता लुकाउनुभएन । ‘कोटको खल्ती फाटेछ, डायरी पनि कता परेछ’ मन्त्रीले यसो भनेपछि हल हाँसोले गुञ्जियो ।