
काठमाण्डौ । आज पृथ्वीजयन्ती, लोकतन्त्रको एक दशकपछि पृथ्वीनारायण शाहको जन्मजयन्तीलाई सरकारले औपचारीक रुपमा राष्ट्रिय एकता दिवसको रुपमा मनाएको छ ।
पृथ्वीनारायण शाहको २ सय ९६ अाैँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको थियाे । सिंहदरबारको मुख्य गेट अगाडि अवस्थित पृथ्वीनारायणको शालिकमा राष्ट्रपछि विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्नुभएको छ । सो अवसरमा नेपाली सेनाबाट सलामी दिईएको थियो ।
त्यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले पनि पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्नुभएको छ । उपप्रधानमन्त्री कमल थापा, प्रधानसेनापति राजेन्द्र क्षेत्री लगायत सरकारका अन्य मन्त्रीहरु तथा राजनीतिक दलका नेता कार्यकर्ताहरुले पनि शाहको शालिकमा माल्यार्पण गरी सम्मान प्रकट गरेका थिए ।
पृथ्वीनारायणको शालिकमा माल्यार्पण गर्नका लागि ठुलो संख्यामा सर्वसाधरण उपस्थित थिए । राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीका अध्यक्ष प्रकाशचन्द्र लोहनीले राष्ट्रिय एकता दिवसको रुपमा पृथ्वीजयन्ती मनाउने सरकारको निर्णयले इतिहास र पृथ्वीनारायण शाहको योगदान प्रति सम्मान पुगेको प्रतिक्रिया दिनुभयो ।